किरण आँखा अस्पताल वीरगंजको आयोजनामा दुई वटा विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरबाट २२० जना विद्यार्थीहरूको आँखाको परीक्षण गरिएको छ। परीक्षणमा २८ जना विद्यार्थीहरूमा विभिन्न प्रकारका आँखासम्बन्धी समस्या देखिएको अस्पतालले जानकारी दिएको छ।
फतेहपुर स्थित एक विद्यालयमा १७० जना विद्यार्थीहरूको आँखा परीक्षण गर्दा १५ जना विद्यार्थीहरूमा समस्या पाइएको थियो भने आमाडारस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, फतेहपुरमा गरिएको परीक्षणमा १५० विद्यार्थीहरूमध्ये १३ जना विद्यार्थीहरूमा समस्या देखिएको अस्पतालका चिकित्सक अमर क्यालले जानकारी दिए।
उक्त शिविरको उद्देश्य विद्यालय तहमै रहेर बालबालिकाको आँखाको स्वास्थ्य अवस्था परीक्षण गर्ने रहेको र समस्याग्रस्त विद्यार्थीहरूलाई समयमै उपचारमा जोड दिनु रहेको बताइएको छ।
डाक्टर क्यालका अनुसार समस्या देखिएका सबै विद्यार्थीहरूलाई आगामी दिनमा थप परामर्श र उपचारमा विशेष छुटसहित सेवा प्रदान गरिनेछ। यस किसिमका स्वास्थ्य शिविरले विद्यार्थीहरूको स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै समयमै उपचारमा सहयोग पुग्ने विश्वास लिइएको छ।









