वीरगंज महानगरपालिका–५ मा अवस्थित नारायणी स्पोर्ट्स क्लब अन्ततः लामो समयको कब्जामुक्त भएपछि स्थानीय स्वामित्वमा फर्किएको छ। वर्षाैंदेखि पत्रकार, लेखक तथा स्तम्भकारको परिचय बनाएका कुमार रुपाखेतीले निजी स्वार्थमा राख्दै आएको क्लब भवन अब स्थानीय वडाबासीको हितका लागि सञ्चालनमा ल्याइएको हो।
क्लब भवन सार्वजनिक उपयोगका लागि पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दीको संसदीय विकास कोषबाट ८० लाख रुपैयाँ खर्च गरी निर्माण गरिएको थियो। वीरगंजका समाजसेवी रवी विक्रम शाह शिव राजाले क्लबका लागि जग्गा दान गरेका थिए।
तर उद्घाटनपछिदेखि नै रुपाखेतीले सो भवनलाई निजी स्वार्थमा नियन्त्रणमा राख्दै आएका थिए। वडा नं. ५ का अध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा वडाका जनप्रतिनिधि, भद्रभलाद्मी तथा नगर प्रहरीको सहभागितामा औपचारिक रूपमा ताला खोली क्लब वडा कार्यालयको मातहत ल्याइएको हो।
अध्यक्ष चौरसियाका भनाई अनुसार “पत्रकार भएको नाताले सार्वजनिक सम्पत्ति कब्जा गर्न पाइँदैन। हामीले केवल भवन मात्र फिर्ता ल्याएका होइनौं, वडाबासीको हक, आवाज र गरिमालाई पुनःस्थापित गरेका हौं।”
यसअघि वडाले पटक–पटक सूचना जारी गरी क्लबको चाबी फिर्ता गर्न अनुरोध गरे पनि बेवास्ता भएपछि वडास्तरीय सर्वसम्मत निर्णयअनुसार प्रत्यक्ष हस्तक्षेप गरिएको थियो।
क्लबको भवन २०८० मा ग्राउन्ड फ्लोर र २०८१ मा बाँकी दुई तला निर्माण सम्पन्न भएको थियो। पूर्वमुख्यमन्त्री गद्दीले २०८१ मंसिर १ गते उद्घाटन गरे पनि त्यसयता संस्थागत उद्देश्य विपरीत प्रयोग भइरहेको आरोप लागेको थियो।
अब क्लब खेलकुद प्रवर्द्धन, युवा सशक्तिकरण र सामाजिक गतिविधिका लागि पारदर्शी रूपमा सञ्चालन हुने वडा कार्यालयले जनाएको छ। स्थानीय समुदायले क्लबको पुनःस्थापनालाई “ऐतिहासिक उपलब्धि” को रूपमा स्वागत गरेका छन्।









