पर्साबाट ठुलो परिमाणको लागु औषध चरेससहित एक जना ट्रक चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज महानगरपालिका–२१ स्थित परवानीपुर चोकबाट ३१९ किलो चरेस बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार काठमाडौँबाट वीरगंजतर्फ आइरहेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकमा लुकाइछिपाई राखिएको अवस्थामा १३ वटा पोका चरेस फेला परेको हो। चरेससहित ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–१२ निवासी ३६ वर्षीय बुद्धि बहादुर स्याङ्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका स्याङ्तानको साथबाट थप एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद गरिएको छ। जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप अनुमति लिई उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक मिश्रले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।प्रहरीको यो सफलता लागु औषध तस्करी नियन्त्रणतर्फ एक महत्वपूर्ण उपलब्धि मानिएको छ।









