जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा लागुऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रणसम्बन्धी तीन महिने सचेतनामूलक अभियान अन्तर्गत बिहीबार बिहान बीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त प्रभातफेरी कार्यक्रममा जिल्लाका प्रमुख सुरक्षा निकायका प्रमुखदेखि बालबालिकासम्मको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको उपस्थिति रहेको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, श्री श्रीगण वीरगञ्जका प्रमुख, ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, नेपाल इनोभेटिभ सोसाइटी बीरगञ्जका अध्यक्ष कमल चौगाई, साथै बीरगञ्जका विभिन्न विद्यालयहरूबाट आएका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।
प्रभातफेरी कार्यक्रम बिरगंजको मुटु मानिने घन्टाघर बाट निकाली वीरगञ्जको मुख्य सडक हुँदै नारा जुलुस सहित गरिएको थियो। सहभागीहरूले “लागुऔषधको दुरुपयोग बन्द गरौं”, “स्वस्थ समाज निर्माण गरौं”, “युवालाई नशाबाट बचाऔं” जस्ता सन्देशमूलक नारा बोकेका प्लेकार्डसहित प्रदर्शन गरेका थिए। नगर परिक्रमा पछी पुनः घन्टाघरमा आई समापन भएको थियोे।
कार्यक्रमको उद्देश्य समाजमा बढ्दो लागुऔषध दुरुपयोगका विरुद्ध जनचेतना अभिवृद्धि गर्नु, विशेषगरी किशोरकिशोरी तथा युवाहरुलाई नशाप्रति सचेत तुल्याउनु रहेको जनाइएको छ।
कार्यक्रमका संयोजकले जानकारी गराएअनुसार यो अभियान आगामी तीन महिनासम्म विद्यालय, समुदाय, सार्वजनिक स्थल र युवाहरु माझ विभिन्न सचेतनामूलक कार्यक्रममार्फत संचालन गरिनेछ।









