सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले मिति २०८२ असार १३ गते भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइएका अवैध सामग्रीहरू नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
वीरगञ्ज महानगरपालिका–१ स्थित छप्कैयाबाट भन्सार छली गरी ल्याइएको अनुमानित रु ३,४०,८०० बराबरको कपडा र छोकडा फेला पारी आवश्यक कानूनी कारबाहीको लागि भन्सार कार्यालयमा हस्तान्तरण गरिएको हो।

त्यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिर्सिया पर्साबाट खटिएको अर्को टोलीले वी.म.न.पा.–३ छपकैयाबाट रु २,४२,००० बराबरको छालाको जुत्ता र प्रयोग गरिएको मोटरसाइकल नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
यसै दिन विशेष सूचनाका आधारमा प्र.सी.सु. गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वी.म.न.पा.–१६ नगुवा नयाँ बस्तीस्थित शिवम टोलमा रहेको रोहित प्रसाद कानुको घरमा भन्सार छली गरी भण्डारण गरिएको सामग्री बरामद गरेको छ।
बरामद सामानमा रु ५६,८०० बराबरको चिनी, पुराना बोरा सिलाउने मेसिन र डिजिटल मेसिन रहेका छन्।

सम्पूर्ण बरामद सामग्रीको कूल मूल्य रु ६,३९,६०० रहेको छ, जसलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी गराएका छन्।
सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रबाट हुने अवैध कारोबार नियन्त्रणमा सतर्कता र निगरानी अझ कडा बनाइरहेको जनाएको छ।









