राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) पर्सा, वीरगञ्ज महानगरपालिका नगर समिति द्वारा पदस्थापन तथा हस्तलेखन, चित्रकला र निबन्ध लेखन प्रतियोगिता कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ।

नगर अधिवेशन २०८१ चैत्र ११ गते सम्पन्न भएपछि गठन गरिएको नगर समितिका पदाधिकारीहरुलाई औपचारिक रुपमा प्रमाणपत्र प्रदान गर्दै पदस्थापन गरिएको हो। नवगठित नगर समितिमा सोनालाल पटेल अध्यक्ष, सन्तोष साह पटेल उपाध्यक्ष, गोबिन्द कुमार साह सचिव, श्रीराम गिरी कोषाध्यक्ष तथा उतम कुमार चौरसिया, सरोज यादव, श्रीराम दास, किशन गौतमलगायत सदस्य पदमा चयन भएका छन्।
उक्त कार्यक्रम एनप्याब्सन पर्साका जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने शुभकामना मन्तव्य जिल्ला सल्लाहकार लालबहादुर गुरुङले व्यक्त गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष डा. नन्दन यादव रहनु भएको थियो भने विशिष्ट अतिथिका रुपमा केन्द्रीय सचिव इन्द्रदेव साहको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रमोद रायमाझीले गरेका थिए।
प्रतियोगितामा पर्सा जिल्लाका १५ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो। विभिन्न विधागत प्रतिस्पर्धामा विजयी हुने विद्यार्थीहरुलाई प्रमुख अतिथि र विशिष्ट अतिथिद्वारा प्रमाणपत्र, मेडल तथा शिल्ड प्रदान गरिँदै सम्मानित गरिएको थियो।
कार्यक्रमले वीरगञ्ज महानगरमा निजी तथा आवासीय विद्यालयहरूबीच आपसी समन्वय, सिर्जनात्मकता र नेतृत्व विकासमा सकारात्मक सन्देश दिएको आयोजक पक्षको भनाइ छ।









