वीरगंज महानगरपालिका वडा नं. ५ मा महिला सशक्तिकरण र स्वरोजगार प्रवर्द्धनका उद्देश्यले मखमलको चप्पल तथा जुत्ता बनाउने तालीम सुरु गरिएको छ। तालीमको औपचारिक उद्घाटन वडा अध्यक्ष प्रदिप चौरसियाले गर्नुभयो।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष चौरसियाले सिप सिकेर मात्रै नहुने, सिकेको सीपलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो। उहाँले महिलाहरूलाई आत्मनिर्भर बनाउने यस्ता कार्यक्रमले दीर्घकालीन रूपमा समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथि सचिव अरुण कुमार बस्नेत, वडा सदस्य सन्जु दहाललगायत स्थानीय जनप्रतिनिधिहरू तथा सरोकारवाला व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो।
यस अवसरमा सृजनशील आमा समूहका उद्यमी दिदीबहिनीहरूले घरेलु रूपमा उत्पादन गरेको सर्फ सामग्रीको हस्तान्तरण पनि गरिएको थियो। उक्त समूहले महिलाहरूले सिप सिकेर उत्पादनमा लाग्न थालेको स्पष्ट उदाहरण पेश गरेको छ।
सृजनशील आमा समूहकी अध्यक्ष जुली श्रेष्ठले कार्यक्रमको उद्देश्य र गतिविधिबारे जानकारी दिँदै महिलाहरूको आर्थिक सशक्तिकरणका लागि समूह निरन्तर लागिपरेको बताइन्।
तालीमबाट महिलाहरूले मखमलको जुत्ता, चप्पललगायत अन्य सामग्री बनाउन सिक्नेछन्, जसबाट उनीहरूले घरमै बसेर पनि आम्दानी गर्न सक्ने वातावरण तयार हुनेछ।
स्थानीय तहको सहयोग र समुदायको सक्रिय सहभागितामार्फत यस्ता कार्यक्रमले स्वरोजगार सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याउने आयोजकहरूले बताएका छन्।









