लायन्स क्लब अफ बीरगंज सेन्ट्रल सिटी क्लबको अध्यक्ष सुशीला साहको नेतृत्वमा हालै गठन भएको नवनिर्वाचित कार्यसमितिबाट नेपाल पत्रकार महासंघ, पर्सालाई २० थान गम्ला सहयोग गरिएको छ।
उक्त कार्यक्रम वीरगंजस्थित नेपाल पत्रकार महासंघ, पर्सा शाखाको सभा हलमा सम्पन्न भएको थियो। कार्यक्रमको उद्देश्य वातावरण संरक्षणमा योगदान पुर्याउनुका साथै महासंघको कार्यालय परिसरलाई हराभरा बनाउने रहेको क्लबले जनाएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय महतो, अजित भुजेल लगायत महासंघका अन्य पदाधिकारी तथा पत्रकारहरू उपस्थित थिए।
त्यस्तै, लायन्स क्लब अफ बीरगंज सेन्ट्रल सिटीका पदाधिकारीहरूसँगै अन्य विभिन्न लायन्स क्लबका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले क्लबको सामाजिक उत्तरदायित्वलाई प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमहरू निरन्तर जारी रहनुपर्नेमा जोड दिए।
अध्यक्ष सुशीला साहले क्लबको तर्फबाट सामाजिक कार्यमा अझ सक्रिय भूमिका खेलिने प्रतिवद्धता व्यक्त गर्दै, “हरेक संस्थामा हरियालीको महत्व छ, र यस प्रकारका स-साना कार्यहरूले पनि ठूलो सकारात्मक प्रभाव पार्न सक्छ,” भन्ने धारणा व्यक्त गरिन्।









