२०८२ चैत्र ११ गते बुधबार

हेटौंडामा ट्रामाडोलसहित तीन जना पक्राउ, १७७० क्याप्सुल लागूऔषध बरामद

 

इलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको गस्ती टोलीले लागूऔषध ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको छ। गस्ती गर्दै जाने क्रममा हेटौंडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिकको सडक खण्डमा शंकास्पद रूपमा रोकी राखिएको ना. ३८ प ३१८५ नम्बरको मोटरसाइकल र ना. २१ प १७१ नम्बरको स्कुटर नजिक तीन जना व्यक्तिहरूलाई फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानी बस्ने २४ वर्षीय महेश तामाङ, ऐ. भिमफेदी गाउँपालिका स्थायी घर भई हाल हेटौंडा उपमहानगरपालिका–९ डेरामा बसोबास गर्दै आएका २६ वर्षीय कैलाश थापा मगर, र ऐ. वडा नं. १३ बस्ने ४० वर्षीय सोम स्याङतान रहेका छन्।

प्रहरी टोलीले उनीहरूलाई रोक्नासाथ विधिपूर्वक खानतलासी गर्दा १७७० क्याप्सुल लागूऔषध ट्रामाडोल बरामद भएको जनाएको छ। साथै उक्त लागूऔषध ओसारपसारमा प्रयोग भएको मोटरसाइकल र स्कुटर समेत बरामद गरिएको छ।

तीनै जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई लागूऔषध कसुरमा अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट ७ दिनको म्याद थप अनुमति लिइएको र हाल घटनासम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार लागूऔषध कारोबारविरुद्ध निगरानी र कडाइका साथ गस्ती र खोजतलास जारी राखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM