२०८२ चैत्र ११ गते बुधबार

विद्यालय खेलकुद प्रवर्द्धनका लागि नेपाल स्कुल खेलकुद महासंघ र प्याब्सनबीच तीन वर्षे सम्झौता

 

नेपाल स्कुल खेलकुद महासंघ (NSSF) र निजी तथा आवासीय विद्यालय संगठन नेपाल (PABSON) बीच बिहीबार एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ। काठमाडौंमा आयोजित एक समारोहमा महासंघका अध्यक्ष विनोद श्रेष्ठ, प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारी र अन्तर्राष्ट्रिय स्कुल खेल महासंघ (ISF) का प्रतिनिधि राजकुमार कार्कीले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार विद्यालय तहमा खेलकुदको विकास, समन्वय र प्रवर्द्धन गर्न संयुक्त कार्य संरचना स्थापना गरिनेछ। प्याब्सन अध्यक्ष अधिकारीका अनुसार, “खेलकुद विद्यार्थीको शारीरिक स्वास्थ्य, अनुशासन र समग्र व्यक्तित्व विकासमा अनिवार्य छ।”

सम्झौताअन्तर्गत देशभरका निजी तथा आवासीय विद्यालयमा खेलकुद पूर्वाधार विकास, विभिन्न प्रतियोगिताको आयोजना, खेल प्रतिभा पहिचान तथा शारीरिक शिक्षाको प्रवर्द्धनमा दुवै संस्थाले सहकार्य गर्नेछन्।

संयुक्त रूपमा सञ्चालन गरिने प्रमुख प्रतियोगिताहरूमा:NSSF–PABSON कप,ISF–PABSON गेम्स,ISF–Combat गेम्स
स्कुल प्रिमियर लिगजस्ता प्रतिस्पर्धाहरू समावेश हुनेछन्।

त्यसैगरी, युवा खेलाडीहरूको पहिचान गरी उनीहरूलाई विशेष तालिम, अवसर र प्रतिस्पर्धामा सहभागी गराउने व्यवस्था मिलाइनेछ। खेलकुद सामग्री, पूर्वाधार र स्रोत परिचालनमा पनि दुवै संस्थाबीच सहकार्य गरिनेछ।

सम्झौता आजदेखि लागू हुने र ३ वर्षसम्म मान्य हुने बताइएको छ। आवश्यकता अनुसार पारस्परिक सहमतिमा नविकरण गर्न सकिने व्यवस्था गरिएको छ। कुनै पक्षले सम्झौता अन्त्य गर्न चाहेमा ३० दिन अगावै लिखित सूचना दिनुपर्नेछ।

खेलकुद कार्यक्रमको प्रभावकारिता सुनिश्चित गर्न नियमित संयुक्त अनुगमन तथा मूल्याङ्कन प्रणाली लागू गरिनेछ। समय समयमा आवश्यक रणनीतिक पुनरावलोकन गरिने जानकारी दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM