बीरगंज, पर्सा — “सीप सिकौं, रोजगार बनौं” भन्ने मूल नाराका साथ नेपाल महिला विकास संघ बीरगंज–१६ मिथिलानगरको आयोजना तथा बीरगंज महानगरपालिका वडा नं. ९ को सहयोगमा एक महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ। तालिमपछि सहभागी महिलाहरूलाई सिलाई मेसिन र प्रमाणपत्र वितरण गरी समापन कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम नेपाल महिला विकास संघकी अध्यक्ष मिनु देवी रौनियारको अध्यक्षता तथा वडा नं. ९ का अध्यक्ष जवाहरलाल प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भयो। प्रमुख अतिथि गुप्ताले महिलाहरूलाई आत्मनिर्भर बनाउन वडाले यस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै भने, “घरमै बसेर महिलाहरूले आय आर्जन गर्न सकून् भन्ने उद्देश्यले यो तालिम आयोजना गरिएको हो। यो तालिमले उनीहरूलाई आर्थिक रूपमा सबल बनाउनेछ।”
वडाले यसअघि पनि कम्प्युटर, ब्यूटिसियन, र लोकसेवा तयारी तालिमहरू प्रदान गरिसकेको जानकारी दिँदै वडा अध्यक्ष गुप्ताले तालिममा सीमित नभई सीपलाई व्यवहारमा उतार्न र स्वरोजगार बन्ने अभियानमा लाग्न सहभागीहरूलाई आग्रह गरे।
समापन कार्यक्रममा वडा सदस्य गीता मानन्धर, किशोर चौहान, लालबाबु प्रसाद कलवार, सोनी पासवान, वडा सचिव मेधराज श्रेष्ठ, सहसचिव रमेश श्रेष्ठ, नेपाल महिला विकास संघका व्यवस्थापक शिवशंकर श्रीवास्तव, शैक्षिक शहीद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानका सदस्य नवराज भट्टराई लगायतको उपस्थिति थियो।
तालिम अवधिभर वाईएन टेलरिङ एण्ड ट्रेनिङ सेन्टरकी प्रोपाइटर शर्मिला सेढाई भट्टराईले सहभागीहरूलाई सीप प्रशिक्षण प्रदान गरेकी थिइन्।
कार्यक्रमले महिलाहरूको सशक्तिकरणमा टेवा पुर्याउने विश्वास आयोजकहरूको छ।









