नेपाली सामाजिक कथानक चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर आज वीरगञ्जमा सार्वजनिक गरिएको छ।
चलचित्र पत्रकार संघ नेपाल, पर्साको आयोजनामा वीरगञ्जको घण्टाघरस्थित होटल क्लासिक बन्क्वेटमा आयोजित कार्यक्रममा पोस्टर सार्वजनिक गरिएको हो।
पोस्टर सार्वजनिक समारोहमा संघका अध्यक्ष सूर्यनारायण विक, वरिष्ठ कलाकार नन्दु श्रीवास्तव र चलचित्र निर्माता हरी पन्तले संयुक्त रूपमा पोस्टरको अनावरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार श्रीवास्तवले चलचित्रले समाजको यथार्थलाई चित्रण गर्ने बताएका छन्। नेपाली, हिन्दी र भोजपुरी चलचित्रमा लामो समयदेखि सक्रिय श्रीवास्तवले हालको नेपाली चलचित्र क्षेत्र प्रविधिमैत्री र नवप्रवर्तनमुखी बन्दै गएको बताए।
चलचित्रका निर्माता तथा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरी पन्तले चलचित्रले समाजको कथा बोल्ने अपेक्षा राखिएको बताए। उनले विगतमा प्रचारप्रसारमा भोगेका कठिनाइ सम्झिँदै, यसपटक चलचित्र पत्रकार संघको सहयोगले काम सहज बनेको जनाए। “चलचित्रको नामले नै दर्शकमा उत्सुकता बढाएको छ,” उनले भने।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता शिव कुमार साहले मधेशमा नेपाली चलचित्रप्रति चासो बढिरहेको बताए। भोजपुरी र हिन्दी चलचित्रको प्रभाव रहेको क्षेत्रमा नेपाली चलचित्रको बढ्दो उपस्थिति सकारात्मक संकेत भएको उनको भनाइ थियो।
संघ अध्यक्ष सूर्यनारायण विकले चलचित्र आगामी भदौ ६ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने जानकारी दिए। उनका अनुसार, आजको दिनलाई लक्षित गरी देशभर एकसाथ पोस्टर सार्वजनिक गरिएको हो।
चलचित्रको निर्देशन हिमाल न्यौपानेले गरेका छन् भने निर्माणमा कमल न्यौपाने र बिमल न्यौपाने संलग्न छन्। प्रमुख भूमिकामा विजय बराल, केकी अधिकारी, मिरूना मगर, र गौरव पहाडी रहेका छन्।









