पर्सा जिल्लाको जनस्वास्थ्य कार्यालयका संयोजक जयमोद ठाकुरले मादक पदार्थ सेवन गरेको अवस्थामा पत्रकारमाथि अभद्र व्यवहार गरेको आरोप लागेको छ।
जिल्ला स्वास्थ्य कार्यालय, पर्साले वीरगञ्जस्थित क्लासिक बन्क्वेटमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी भएका ठाकुरले मदिरा सेवनको अवस्थामै तालिम सञ्चालन गरेका थिए। सोही क्रममा चलचित्र पत्रकार संघद्वारा आयोजना गरिएको एउटा चलचित्रको पोस्टर विमोचन कार्यक्रममा सहभागी हुन पुगेका पत्रकारहरूसँग उनले अशोभनीय व्यवहार गरेका थिए।
प्रत्यक्षदर्शी पत्रकारहरूका अनुसार ठाकुरले बाहिर आएर अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेपछि उनलाई सोधपुछ गरिएको थियो। पत्रकारहरुले “तपाईंले मादक पदार्थ सेवन गर्नुभएको हो?” भनी प्रश्न गरेपछि ठाकुर घटनास्थलबाट भागेका थिए।
पछिल्लो घटनापछि पत्रकारहरुले ठाकुरमाथि मादक पदार्थ सेवन (मापसे) परीक्षण गरि आवश्यक कानुनी कारवाही गर्न प्रशासनसँग माग गरेका छन्। सरकारी जिम्मेवारीमा रहेका व्यक्तिबाट यस्तो गैरजिम्मेवार व्यवहार हुनु अत्यन्तै आपत्तिजनक र निन्दनीय भएको उनीहरुको भनाइ छ।
कार्यक्रमस्थलमा उपस्थित केही स्वास्थ्यकर्मीहरूले समेत ठाकुरको पक्ष लिएर पत्रकारहरूमाथि आक्रमणको प्रयास गरेको आरोप लागेको छ।
जयमोद ठाकुर आफूलाई ‘सूचनाको हकको अभियन्ता’ तथा ‘पत्रकार’ भनेर चिनाउने गरेका छन्। तर, उनीमाथि पटक–पटक दम्भ देखाउँदै गैरजिम्मेवार व्यवहार गरेको आरोप पनि लाग्दै आएको छ।









