वीरगञ्ज–१४ बहुअरीमा अवस्थित कन्या विद्यालयमा मंगलबार नेसनल एकेडेमी क्याम्पसको २५औं वार्षिकोत्सवको अवसरमा ४० जना छात्रालाई नयाँ कपडा वितरण गरिएको छ।
वीरगञ्ज मेनरोड, भारतीय दूतावास अगाडि अवस्थित नेसनल एकेडेमी क्याम्पसका प्रमुख केदार प्रसाद साहको नेतृत्वमा तथा वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्यायको विशेष सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा क्याम्पसका निर्देशक राजकुमार सहनी, प्राध्यापक अफरोज अहमद, विद्यालयका प्रधानाध्यापक साबिर अहमद एराज, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, क्याम्पसका पुस्तकालय प्रमुख सुरज शर्मा, साथै शिक्षकहरू सलमा नेशा, पुष्पा देवी, नुरजहा लगायत क्याम्पस तथा विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख वक्ता उपाध्यायले भनाइ राख्दै, “हाम्रो छोरीबेटीहरू जीवनका आधा आकाश हुन्, उनीहरूको शिक्षा आत्मनिर्भरता र समृद्धिको मूल आधार हो। तपाईंहरूले पढाइमा मेहनत गर्नुस्, म तपाईंहरूको साथमा छु,” भन्दै आगामी दिनमा थप सहयोगको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
यस अवसरमा क्याम्पसले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षाको पहुँच र सशक्तिकरणमा योगदान दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।









