कलैया, २६ असार
लायन्स क्लब अफ विरगंज सेन्ट्रल सिटीको आयोजनामा बारा जिल्लाको कलैया स्थित “Child Vision School” मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिने सामाजिक उत्तरदायित्व कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ।

कार्यक्रममा क्लबकी अध्यक्ष सुशीला साहको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथिका रूपमा लायन्स क्लब बारा, जितपुर सिमराका District Head, लायन्स मन्तोष चौधरीको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबका Senior तथा Junior सदस्यहरू सक्रिय रूपमा सहभागी थिए। सदस्यहरूबीच समन्वय र सहकार्यमा करिब ५० जना विद्यार्थीहरूलाई कापी, कलम, स्केच, र अन्य शैक्षिक सामग्रीहरू वितरण गरिएको हो।

अध्यक्ष सुशीला साहले कार्यक्रममा भनिन् “हामी सामाजिक सेवाका माध्यमबाट समुदायमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छौँ। शिक्षा हाम्रो प्राथमिकता हो, र यस प्रकारका कार्यक्रमहरू बालबालिकामा आशा र उत्साह जगाउने माध्यम हुन्।”
त्यसैगरी प्रमुख अतिथि मन्तोष चौधरीले लायन्स क्लबद्वारा निरन्तर भइरहेको सामाजिक सेवाको प्रशंसा गर्दै थप यस्ता कार्यक्रमहरू देशभर संचालन गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमको समापनमा विद्यालयका शिक्षक–शिक्षिकाहरूले क्लबप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूको भविष्य निर्माणमा यस्ता सहयोगी हातहरू प्रेरणादायी भएको बताए।

लायन्स क्लब अफ विरगंज सेन्ट्रल सिटीद्वारा गरिएको यो शैक्षिक सामग्री वितरण कार्यक्रमले बालबालिकामा शिक्षा प्रतिको अभिरुचि बढाउनुका साथै सामाजिक संस्थाहरूको भूमिकालाई अझ मजबुत बनाएको छ। भविष्यमा अझ धेरै स्थानमा यस्ता सेवामूलक कार्यहरू विस्तार गर्ने योजना क्लबले जनाएको छ।









