उपभोक्ता अधिकार संरक्षणको क्षेत्रमा सक्रिय उपभोक्ता हित संरक्षण मञ्च, मोरङ जिल्ला समितिको पूर्ण बैठक शनिबार सम्पन्न भएको छ। बैठकको अध्यक्षता मञ्चका जिल्ला अध्यक्ष श्री तारानाथ भट्टराईले गर्नुभएको थियो।
उक्त बैठकमा केन्द्रीय उपाध्यक्ष श्री मेघराज श्रेष्ठ, पूर्व केन्द्रीय उपाध्यक्ष श्री केदार कर्की, केन्द्रीय सदस्य श्री महेश खड्का, प्रदेश कोषाध्यक्ष श्री विनोद सुवेदी, साथै जिल्ला समितिका पदाधिकारीहरू तथा नगर समितिका अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गतिविधिको समीक्षा र आगामी कार्ययोजनामाथि विस्तृत छलफल
बैठकमा विगतमा सञ्चालित गतिविधिहरूको समिक्षा गर्दै उपभोक्ता हितका पक्षमा अझ प्रभावकारी पहलकदमी आवश्यक रहेको निष्कर्ष निकालिएको छ। संगठन सुदृढीकरण, उपभोक्ता सचेतना अभिवृद्धि, तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन, र बजार अनुगमनलाई थप तीव्र बनाउने विषयमा विशेष छलफल गरिएको थियो।
नियामक निकायहरूमा दबाब दिने तयारी
बैठकले बजारमा भइरहेको मूल्य अनियमितता, म्याद सकिएको सामानको बिक्री, नापतौलमा हुने धोका, जस्ता समस्याहरूको न्यूनीकरणका लागि सम्बन्धित नियामक निकायहरूमा दबाब सिर्जना गर्ने र आवश्यक सहकार्य तथा पत्राचार तीव्र बनाउने निर्णय गरेको छ।
कार्यान्वयनमा प्रतिबद्धता
बैठकमा लिइएका निर्णयहरूलाई व्यवस्थित, चरणबद्ध र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता मञ्चले व्यक्त गरेको छ। साथै, उपभोक्ताहरूको हकहितमा संगठित रूपमा क्रियाशील रहने र जिल्लामा उपभोक्ता अधिकार संरक्षणको अभियानलाई अझ सक्रिय बनाउने अठोट व्यक्त गरिएको छ।









