वीरगंज क्षेत्रमा बढ्दो रक्त अभाव र उपचारमा देखिएको चुनौतीलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगंजको समन्वयमा र गौतम स्कुलको आयोजनामा यही शनिबार विशेष रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा ‘एक घर, एक रक्तदाता’ भन्ने नारा दिइएको छ।
अभियानको मुख्य उद्देश्य समाजमा रक्तदानप्रति चेतना जगाउनुका साथै बिरामीको जीवनरक्षाका लागि नियमित रक्तदान संस्कार स्थापित गर्नु रहेको गौतम स्कुलले जनाएको छ।
विद्यालयका २१ सयभन्दा बढी विद्यार्थीलाई रक्तदानको महत्त्व, रक्तदान गर्दा हुने फाइदा र आपत्कालीन अवस्थामा यसले कसरी जीवन बचाउन सक्दछ भन्ने विषयमा कक्षा प्रशिक्षण दिइएको छ। साथै विद्यार्थीमार्फत अभिभावकसम्म जानकारी पुर्याउन पर्चा–पम्पलेट वितरण गरिएको छ, जसको संयोजन नेपाल रेडक्रसका स्वयंसेवक टोलीहरूले गरेका हुन्।
“रक्तको अभावका कारण धेरै बिरामीहरू समयमै उपचार पाउनबाट बञ्चित हुँदै आएका छन्। यदि हरेक घरबाट कम्तीमा एक जनालाई रक्तदाता बनाउन सकियो भने समाजमा ठूलो सकारात्मक प्रभाव पर्न सक्छ।”
वीरगंजमा नियमित रूपमा देखिने रक्त अभावको समस्या सामूहिक प्रयासबाट मात्र समाधान हुन सक्छ र ‘एक घर, एक रक्तदाता’ अभियानले समुदायमा दीर्घकालीन परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
गौतम स्कुलका अनुसार “संकटको घडीमा समयमै गरिएको रक्तदान कसैको जीवनको सञ्जीवनी बन्न सक्छ। आज हामीमध्ये हरेकसँग साँचो नायक बन्ने अवसर छ कुनै कथा होइन, वास्तविक जीवनमा।”
कार्यक्रम शनिबार गौतम स्कूलको जुनियर विंगमा सञ्चालन हुनेछ। आयोजकहरूले सहभागिताका लागि हार्दिक आग्रह गर्दै भनेका छन्,“तपाईंको रक्तदानले जीवन बचाउने मात्र होइन, सन्तानलाई सेवा, दया र मानवीयताको अमूल्य पाठ सिकाउनेछ। संगै मिलेर, जीवन बचाऔं।”









