२०८२ चैत्र १० गते मंगलवार

एसपी राधेश्याम धिमालको नेतृत्वमा सशस्त्र प्रहरी पर्साद्वारा ऐतिहासिक सफलता

 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालको कुशल नेतृत्वमा आर्थिक वर्ष २०८१/८२ मा सीमावर्ती सुरक्षा र अवैध कारोबार नियन्त्रणमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

गत आर्थिक वर्षमा मात्र सशस्त्र प्रहरीले भन्सार राजस्व छलेर भारतबाट ल्याइएका करिब २८ करोड ९२ लाख ५० हजार रुपैयाँ मूल्यका अवैध सामान बरामद गरेको छ। यी सामानमा कपडा, हार्डवेयर, मोटर पार्ट्स, औषधि लगायतका वस्तुहरू छन्।

मासिक बरामद रकम

भदौ महिनामा: ३ करोड ५६ लाख रुपैयाँ बराबरको सामान बरामद।
मंसिर महिनामा: १ करोड ५५ लाख रुपैयाँ बराबरको सामान बरामद।

बरामद गरिएका सामग्रीमध्ये ११ करोड ९९ लाख रुपैयाँको सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ भने बाँकी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो।

हुण्डी र लागूऔषध नियन्त्रणमा उल्लेखनीय सफलता

धिमालको नेतृत्वमा कार्यरत टोलीले १ करोड १५ लाख ९० हजार रुपैयाँ स्रोत नखुलेको नगदसहित २१ जनालाई पक्राउ गरी हुण्डी कारोबार नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ।

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत, गत वर्षमा सशस्त्र प्रहरीले ४२३ केजी गाँजा, ३९ केजी चरेस, ३.२ ग्राम खैरो हेरोइन, २ लाख २३ हजार ३९० पिस ट्रामाडोल, ६ हजार ८७६ पिस नाइट्रोभेट बरामद गरेको छ। साथै, १६ बिघा ५ कट्ठा क्षेत्रमा फैलिएको अवैध गाँजा खेतीसमेत नष्ट गरिएको छ।

नेतृत्वको मेरुदण्ड – एसपी राधेश्याम धिमाल

सशस्त्र प्रहरी बल पर्साको उपलब्धिमा एसपी धिमालको स्पष्ट नेतृत्व, कडाइ र टोली निर्माण क्षमता प्रमुख रहे। उनको रणनीति र जोखिम लिन सक्ने क्षमता कारण सीमावर्ती अपराधहरू नियन्त्रणतर्फ उल्लेखनीय प्रगति भएको छ।

स्थानीय जनसमुदाय, व्यापारी वर्ग र पत्रकारहरूले एसपी धिमालको सक्रियता र उत्तरदायित्वको उच्च प्रशंसा गरेका छन्। यो सफलता राष्ट्रिय सुरक्षामा पनि एक ठुलो योगदानको रूपमा हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM