धनुषा निवासी सरोज कुमार महतोको पहलमा सात वर्षअघि स्थापना भएको ब्लड फर नेपाल आज आफ्नो सातौं वार्षिकोत्सव मनाइरहेको छ। रगत अभावलाई कम गर्न उद्देश्यले स्थापना भएको यो संस्थाले देशभर रक्तदान कार्यक्रम, रगत व्यवस्थापन, रगतसम्बन्धी जनचेतना अभिवृद्धि लगायतका विविध गतिविधि सञ्चालन गर्दै आएको छ।
संस्थाले हालसम्म २५ हजार ३८२ जनालाई रगत व्यवस्थापन गरिसकेको छ। ब्लड फर नेपालका सचिव भावानी साहका अनुसार,
४ हजार ३९३ जना रक्तदातालाई परिचालन,६ हजार ९८२ पिन्ट रक्तदान कार्यक्रममार्फत संकलन र विभिन्न रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण,२४० वटा रगतका कुरा (रक्तदान जनचेतना कार्यक्रम),१ लाख ३५ हजारभन्दा बढीलाई प्रत्यक्ष रुपमा सन्देश प्रवाह,१ हजार ४२५ जनाको रगत समूह परीक्षण, १२८ जनाको मधुमेह परीक्षण,८ हजार १०० जनालाई मास्क र ३ हजार ५०० जनालाई जीवनजल वितरण गरिसकिएको छ।
कोषाध्यक्ष अर्चना झाका अनुसार, “संस्थाले विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै आएको छ तर आर्थिक सबलीकरणमा अझै चुनौती छ। सहकार्य गर्नका लागि हामी सबैलाई अपिल गर्न चाहन्छौं।”
उपाध्यक्ष सन्तोष यादवले हाल युवाहरूलाई आकर्षित गर्न कलेज प्रतिनिधि, एसोसीएट सदस्यता र आजीवन सदस्यता अभियान सुरु गरिएको बताए। कार्यकारी केन्द्रिय सदस्य मनिष भाद्रले भने, “हामी रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, रगत व्यवस्थापन हटलाइन र रगतसम्बन्धी सचेतना कार्यक्रमहरू संचालन गर्दै आएका छौं।”
देशका सबै प्रदेशमा प्रतिनिधित्व रहेको भए पनि गण्डकी प्रदेशमा कार्यक्रम विस्तारका लागि स्थानीय संघसंस्थासँग सहकार्य भइरहेको जानकारी अजय यादवले दिए। रामविनय यादवका अनुसार, “सामाजिक सञ्जालले संस्थालाई देश–विदेशसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको छ।”
बरिष्ठ सल्लाहकार क्षितिज कार्कीले भने, “कसैलाई रगत अभावको समस्या हुँदा सक्रियतापूर्वक सहयोग गर्ने संस्था ब्लड फर नेपाल हो, यस संस्थासँग जोडिनु आफैंमा गर्वको कुरा हो।”
संस्थापक सरोज कुमार महतोले भने, “देशका रगत अभाव घटाउन अझ धेरै काम गर्न आवश्यक छ। सक्रिय रक्तदाता, सदस्य, सहकार्य गर्ने संघसंस्था र शुभेच्छुक सबैलाई हार्दिक आभार। आउनुहोस्, देशभर रगतको अभाव हटाउन मिलेर लागौं।”









