२०८२ चैत्र १० गते मंगलवार

प्याब्सन बीरगंज छात्रवृत्ति प्रवेश परीक्षा साउन १० मा आवेदन संख्या ५ सय नजिक

 

अभिलाष गुप्ता
बीरगंज, साउन ६

कक्षा ११ र १२ मा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले प्याब्सन महानगर कमिटी बीरगंज र प्याब्सन जिल्ला कार्यसमितिको समन्वयमा हुन लागेको छात्रवृत्ति प्रवेश परीक्षाको अन्तिम तयारी पूरा भएको छ। कार्यक्रम यहीँ साउन १० गते सञ्चालन गरिने तयारी गरिएको प्याब्सन नगर कमिटीका अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिए।

उनका अनुसार हालसम्म ४४६ विद्यार्थीले अनलाइनमार्फत आवेदन दिएका छन् र संख्या शीघ्रै ५ सय पुग्ने अनुमान छ। “गरिब, विपन्न, जेहेन्दार तथा सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई अवसर दिने लक्ष्यसहित कार्यक्रम विस्तार गरिएको हो,” श्रीवास्तवले बताए। आवेदन काठमाडौँसम्मका विद्यार्थीले पनि दिएको उनले उल्लेख गरे।

अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति २०८२/४/८ (साउन ८) बिहान १० बजेसम्म निर्धारण गरिएको छ। आयोजकका अनुसार यसबीच विद्यार्थीहरूले तीव्र रूपमा फारम भरिरहेको जानकारी आएको छ।

परीक्षामा सहभागिता जनाउनुपर्ने प्रवेश पत्र पानीटंकी–१० स्थित लिटिल बडी प्रि-स्कुलबाट परीक्षा समिति सदस्य विजय बलसँग सम्पर्क गरी लिन सकिन्छ। नगर सचिव अमित आलोकका अनुसार कसैको प्रवेश पत्र छुटेमा परीक्षा संचालन हुने १० वटा कलेज (परीक्षा केन्द्र) मार्फत पनि उपलब्ध गराइनेछ। “छोटो तयारी अवधिमै सन्तोषजनक सहभागिता पाएका छौं; अर्को वर्ष अझ व्यवस्थित, व्यापक र प्राविधिक रूपमा उन्नत विधिबाट अघि बढ्ने हाम्रो योजना छ,” आलोकले बताए।

छात्रवृत्ति प्रवेश परीक्षा अंग्रेजी, नेपाली, गणित र विज्ञान विषयमा हुनेछ। प्रश्नपत्रको ठूलो भाग कक्षा १० (एसईई) पाठ्यक्रममा आधारित रहने परीक्षा समिति सदस्य सुमित कुमार गुप्ताले जानकारी दिए। परीक्षा मर्यादित तर सुव्यवस्थित ढंगले सञ्चालन गरिने आयोजक पक्षले जनाएको छ र दर्ता भएका सबै विद्यार्थीलाई निःशङ्क सहभागी हुन आग्रह गरिएको छ।

कार्यक्रमबारे पत्रकार भेटघाटमा प्याब्सन जिल्ला कार्यसमिति सदस्य शुलभ केसी, महानगर अध्यक्ष राहुल श्रीवास्तव, नगर सचिव अमित आलोक, परीक्षा समिति सदस्य विजय बल, सदस्य सुमित कुमार गुप्ता, प्रेस संयोजक दिपु बर्णवाल, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईसहितको उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM