बीरगंज महानगरपालिका ५ कुम्हालटोलस्थित मुनलाईट इंग्लिश बोर्डिङ स्कूलमा ६७० विद्यार्थीको निशुल्क आँखा तथा दाँत स्वास्थ्य परीक्षण सम्पन्न भएको छ। किरण आँखा अस्पताल तथा ईस्माल २४ डेन्टल केयरको संयुक्त आयोजनामा भएको यस स्वास्थ्य शिविर बिहान ७ बजेदेखि सुरु भई दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो।

दन्त परीक्षणतर्फ ईस्माल २४ डेन्टल केयरकी डा. प्रेरणा प्रीयादर्शिनी झाका अनुसार ६७० विद्यार्थीमध्ये करिब ४५ जनाको दाँतमा समस्या देखिएको छ। उनले बच्चाहरूमा बढी गुलियो खानेकुरा र बजारमा पाइने विभिन्न किसिमका चकलेटको अत्यधिक सेवनले दाँतमा समस्या देखिने बताइन्।
आँखा परीक्षणतर्फ किरण आँखा अस्पतालका टोलीले मुनलाईट बोर्डिङमा ७६ र युरो किड्स विद्यालयमा १५ विद्यार्थीमा भिजन (दृष्टि) समस्या फेला पारेको जानकारी दिएको छ। ती विद्यार्थीलाई केही दिन चस्मा लगाउने र औषधि सेवन गर्न सुझाव दिइएको छ।

मुनलाईट इंग्लिश बोर्डिङ स्कूलका निर्देशक सुलभ केसीले स्वास्थ्य शिविर विद्यालयमै आयोजना गर्नु विद्यार्थी र अभिभावक दुवैका लागि लाभदायक भएको बताए। उनले भने, “आजको शिविरले हामी सबैलाई आँखा र दाँतको नियमित स्वास्थ्य परीक्षण कति जरुरी छ भन्ने सन्देश दिएको छ। म विद्यालय परिवारको तर्फबाट किरण आँखा अस्पताल र ईस्माल २४ डेन्टल केयरलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।”

कार्यक्रममा किरण आँखा अस्पतालका संचालक डा. अमर क्यालले आगामी दिनमा अन्य निजी तथा सामुदायिक विद्यालयमा पनि यस्ता स्वास्थ्य शिविर सञ्चालन गरिरहने प्रतिबद्धता जनाएका छन्।



















