२०८२ फाल्गुन ५ गते मंगलवार

वीरगन्ज नाकाबाट एक वर्षमा १ खर्ब ९२ अर्बको पेट्रोलियम पदार्थ आयात, ८१ अर्ब राजस्व संकलन

 

वीरगन्जमा गत आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज भन्सार नाकाबाट करिब १ खर्ब ९१ अर्ब ८८ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, एलपी ग्यास, एटिएफ र मट्टितेल) आयात भएको छ। उक्त आयातबाट वीरगन्ज भन्सार कार्यालयले ८० अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार प्रमुख प्रशासक दीपक लामिछानेले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब ९३ अर्ब ८१ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो।

गत वर्ष ११ लाख ४९ हजार ५२१ किलोलिटर डिजेल (९९ अर्ब ९५ करोड रुपैयाँ), चार लाख ५३ हजार ८६४ किलोलिटर पेट्रोल (३८ अर्ब ७२ करोड रुपैयाँ), ३१ करोड ८९ लाख २४ हजार ६८४ किलोग्राम एलपी ग्यास (३६ अर्ब ३७ करोड रुपैयाँ), एक लाख ८० हजार ६६३ किलोलिटर एटिएफ (१६ अर्ब १४ करोड रुपैयाँ) र ७ हजार ९३० किलोलिटर मट्टितेल (६९ करोड रुपैयाँ) आयात भएको भन्सार तथ्यांकमा उल्लेख छ।

पेट्रोलियम पदार्थको कुल आयात मूल्य अघिल्लो वर्षको तुलनामा १ अर्ब ९४ करोड रुपैयाँले घटेपनि राजस्व संकलन भने १०.२३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष ७ अर्ब ५१ करोड रुपैयाँ बढी राजस्व संकलन भएको हो। भन्सार प्रमुख लामिछानेका अनुसार, वीरगन्ज भन्सार कार्यालयको कुल राजस्व संकलनमा पेट्रोलियम पदार्थकै योगदान सर्वाधिक छ, त्यसपछि नयाँ सवारीसाधन र औद्योगिक कच्चा पदार्थको आयातबाट राजस्व संकलन हुने गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM