२०८२ पुष १ गते मंगलवार

त्रिजुद्ध स्कुलको सम्पत्तिमा गिद्दे आँखा दाता परिवारलाई अज्ञानमै राखेर समिति गठनको प्रयास

 

वीरगंजको ऐतिहासिक त्रिजुद्ध माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया दाता परिवारको जानकारीबिना अघि बढाइएको भन्दै गम्भीर आपत्ति जनाइएको छ। विद्यालय स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याएको दाता परिवारले उक्त कार्य कानुनविपरीत र नियतवश गरिएको आरोप लगाएको छ।

शुक्रबार समिति गठनका लागि विद्यालयले आह्वान गरेको अभिभावक भेलाबारे दाता परिवारलाई कुनै जानकारी नगराइएको बताइएको छ। विद्यालयका प्रधानाध्यापक एवं सदस्य सचिव नविन मिश्रले यस विषयमा प्रतिक्रिया दिँदै “नियममा जानकारी गराउनु पर्ने भए गर्छौं नि” भन्दै पन्छिने प्रयास गरेका थिए। तर विद्यालय शिक्षा ऐनअनुसार, व्यवस्थापन समितिमा दाता परिवारको प्रतिनिधित्व अनिवार्य व्यवस्था गरिएको छ।

त्रिजुद्ध माध्यमिक विद्यालय वीरगंजकै सबैभन्दा पुरानो र ऐतिहासिक विद्यालय हो, जसको स्थापना स्थानीय दाता परिवारले दलित, गरिब र वञ्चित समुदायका बालबालिकालाई शिक्षामा पहुँच दिलाउनका लागि गरेका थिए। तर पछिल्लो समय विद्यालयको सम्पत्तिमा अनुचित ढंगले हस्तक्षेप भएको भन्दै चासो बढेको छ।

विद्यालय अगाडि रहेको खुला फिल्डमा सटर निर्माणका नाममा संरचना विस्तार गरी मूल संरचनामै असर पारिएको छ। त्यस्तै, ‘लालघर’ भनिने पुरातात्विक महत्वको भवन भत्काइएकाले मात्र होइन, त्यहाँ प्रयोग भएका बहुमूल्य काठसमेत हिनामिना भएको आरोप लागिरहेको छ। विद्यालय स्रोतका अनुसार, यी सबै गतिविधिहरू विद्यालय प्रमुखकै मौन सहमतिमा भइरहेको बताइएको छ।

विद्यालय व्यवस्थापन समिति गठनका क्रममा दाता परिवारलाई पूर्वजानकारी, परामर्श वा प्रतिनिधित्व दिने प्रावधान स्पष्ट रूपमा रहेको भएतापनि, वीरगंज महानगरपालिका र विद्यालय प्रशासनको मिलेमतोमा यो प्रक्रिया लुकाएर व्यक्तिगत स्वार्थमा प्रयोग गरिएको दाता पक्षको आरोप छ।

दाता परिवारका सदस्यहरूले यस कार्यप्रति गम्भीर आपत्ति जनाउँदै सम्पत्तिको संरक्षणमा चासो दिनुपर्ने, र पुरातात्विक सम्पदाको जगेर्ना गर्न माग गरेका छन्। यदी दाता परिवारको प्रतिनिधित्व सुनिश्चित नगरिएको खण्डमा, कानुनी कदम चाल्ने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM