२०८२ चैत्र १० गते मंगलवार

लागुऔषध र साइबर अपराधविरुद्ध जीवन ज्योति स्कुलमा सचेतनामूलक कार्यक्रम सम्पन्न

 

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी प्रमुख एस.पी. गौतम मिश्रको विशेष उपस्थितिमा वीरगंजस्थित जीवन ज्योति स्कुलमा लागुऔषध दुर्व्यसन र साइबर अपराधबारे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजित यस कार्यक्रममा एस.पी. मिश्रले वर्तमान समयमा किशोरकिशोरीहरुमा लागुऔषधको दुरुपयोग र अनलाइन क्रियाकलापका कारण हुने जोखिमको विषयमा गहिरो जानकारी दिनु भयो।

उहाँले विद्यार्थीलाइ लागुऔषधको दुष्परिणाम, सामाजिक र मानसिक असर, तथा साइबर अपराधका खतराहरूको उदाहरणसहित सजग गराउनुभयो। साथै, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, व्यक्तिगत विवरणको गोपनीयता जोगाउने उपायहरुबारे समेत जानकारी दिनुभयो।

उहाँको भनाइमा, “आजको युवापुस्ता राष्ट्र निर्माणका कर्णधार हुन्। यदि उनीहरू सही बाटोमा लागे भने समाज समृद्ध हुन्छ, अन्यथा अपराध र विकृतिको चपेटामा पर्न सक्छन्।”

कार्यक्रम विद्यालयका सञ्चालक शिवजी गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूले प्रहरी प्रमुखको वक्तव्यलाई अत्यन्त उपयोगी र प्रेरणादायी बताउँदै धन्यवाद ज्ञापन गरे।

विद्यालय प्रशासनले एस.पी. मिश्रप्रति कृतज्ञता प्रकट गर्दै अत्यन्त व्यस्त समयमा पनि विद्यालय आई आफ्नो बहुमूल्य समय विद्यार्थीसँग बिताएकोमा हार्दिक आभार व्यक्त गरेको छ।

कार्यक्रममा करिब २०० विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूमाझ पर्चा वितरण गरिएको थियो र अन्तमा प्रश्नोत्तर सत्र समेत राखिएको थियो, जसले विद्यार्थीहरूलाई अझ व्यावहारिक रुपमा जानकारी लिन प्रेरित गर्‍यो।

विद्यालयले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM