भोजपुरी साहित्यको गौरवशाली परम्परामा अर्को महत्वपूर्ण कडी जोडिँदा वीरगञ्जस्थित गेटवे होटलमा वरिष्ठ भोजपुरी साहित्यकार, भोजपुरी प्रतिष्ठान वीरगञ्जका सल्लाहकार तथा भाषा आयोगका सम्मानित सदस्य आदरणीय श्री गोपाल अश्कद्वारा रचित ललित निबंध संग्रह “सूरज डूबे रे नदिया” को लोकार्पण समारोह भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमको अध्यक्षता अनिता शाहले गर्नुभएको थियो भने, समारोहका प्रमुख अतिथि डा. हरिन्द्र हिमकर रहनुभयो। प्रमुख वक्ताका रूपमा आदरणीय श्री प्रमोद पाण्डेले संग्रहबारे गहिरो विश्लेषण प्रस्तुत गर्नुभयो। विशिष्ट अतिथिका रूपमा वी. रामप्रसाद शाह, भुवसिंह ठकुरी र जिता भण्डारीको, लालाबाबू सिंह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको शुभारम्भ राष्ट्रीय गान बाट गरिएको थियो। गमलामा पानी हालेर औपचारिक उद्घाटन गरिएको कार्यक्रममा स्वागत मन्तव्य आमोद गुप्ताले र शुभकामना मन्तव्य विनयराज गौतमले राख्नुभएको थियो।
प्रमोद पाण्डेले संग्रहमा संकलित निबन्धहरूबारे संक्षिप्त जानकारी दिँदै भन्नुभयो— “यस संग्रहमा भोजपुरी समाजमा प्रचलित भाषा व्यवहार, पीडा, भोगाई, उखान–टुक्का लगायतका पक्षहरूलाई विश्लेषणात्मक र भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।”
उक्त लोकार्पण समारोहमा वीरगञ्ज तथा आसपासका क्षेत्रहरूबाट साहित्यप्रेमी, लेखक, पत्रकार, सांस्कृतिककर्मी तथा नवोदित सर्जकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। संचारकर्मी कन्हैया पटेल, नियंजन साह, विशाल यादव, सूर्य बिक, लगायतको उपस्थिति कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो।
भोजपुरी प्रतिष्ठानका श्याम सर्राफले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो। वक्ताहरूले गोपाल अश्कको लेखनीको प्रशंसा गर्दै भने— “‘सूरज डूबे रे नदिया’ जस्ता ललित निबंधले आजको पुस्तालाई आफ्नो भाषा, संस्कृति र जरा–विरासतसँग जोड्ने महत्वपूर्ण कार्य गर्छ।”
समारोहले भोजपुरी भाषाको संरक्षण, सम्वर्द्धन र नवसर्जनको दिशा तर्फ थप प्रेरणा दिने संकेत गरेको थियो।









