“मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो अधिकार” भन्ने नाराका साथ मधेस तेस्रो आखा दैनिक पत्रिकाको चौथो वार्षिकोत्सव कार्यक्रम शनिबार वीरगंजस्थित होटल गेटवेमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ।
मधेस तेस्रो आखा दैनिक पत्रिकाका प्रबन्धक एवं सह सम्पादक मुनिश लायो मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासंघ वीरगंज शाखाका अध्यक्ष ओमप्रकाश खनाल, ओम कुमारी शर्मा, निरज पिठाकोटे मगर, जगत राई, महासंघ मधेश प्रदेशका सचिव दीपक गौतम, रासस वीरगंज प्रमुख हिमाल लम्साललगायत विभिन्न सञ्चारमाध्यमहरूबाट आवद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन मधेस तेस्रो आखा दैनिकका प्रधान सम्पादक गणेश बहादुर ठकुरीले गरेका थिए भने स्वागत मन्तव्य प्रबन्धक एवं सह सम्पादक मुनिश लायो मगरले व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख आकर्षणमध्ये एक, पत्रकारहरूलाई मायाको चिनो एवं सम्मान प्रदान गरिनु रह्यो, जसले पत्रकारिता क्षेत्रप्रति कदर र उत्साह अभिवृद्धि गरेको सहभागीहरूको प्रतिक्रिया थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अशोक तिवारीले भने:
“पत्रकारिता कुनै व्यवसाय मात्र होइन, यो समाजको अन्तरात्मा हो। मर्यादित पत्रकारिता, श्रम सुरक्षाको प्रत्याभूति र प्रेस स्वतन्त्रता सुनिश्चित गर्नु हाम्रो साझा उत्तरदायित्व हो। आजको परिवेशमा सत्य लेख्ने साहस राख्ने पत्रकारहरूलाई संरक्षण र सम्मान जरुरी छ। म मधेस तेस्रो आखा दैनिकलाई यस प्रेरणादायी यात्राको चौथो वर्षमा हार्दिक बधाई दिन चाहन्छु।”
कार्यक्रम अन्त्यमा धन्यवाद ज्ञापन गर्दै आयोजकले आगामी दिनमा अझ गहिरो, निस्पक्ष र जिम्मेवार पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरे।









