माहेश्वरी समाज बिरगंजका अध्यक्ष प्रकाश बाहेतीको सहयोगमा रोटरी महावीर जयपुर लिम्ब रिहाबिलिटेशन सेन्टरलाई प्रदान गरिएको आर्थिक सहायताबाट पर्सा जिल्लाकी एक अपांग महिला लाभान्वित भएकी छन्। उक्त सहयोग कार्यक्रम अन्तर्गत महिलालाई निःशुल्क तल्लो अप्राकृतिक खुट्टा (कृत्रिम खुट्टा) प्रदान गरिएको छ।
यस मानवीय सेवामूलक कार्यको सह–आयोजक तथा स्थानीय संयोजकको रूपमा रोटरी क्लब बीरगंजले प्रमुख भूमिका निर्वाह गर्दै आएको छ। क्लबका अध्यक्ष रोटेरियन गोपाल खेतानले जानकारी दिँदै यस अभियानमार्फत अपांगता भएका नागरिकहरूलाई नयाँ जीवन प्रदान गर्ने कार्य भइरहेको बताए। उनले रोटरी क्लब सदैव समाजसेवामा समर्पित रहेको र आगामी दिनहरूमा अझ व्यापक रूपमा यो अभियानलाई विस्तार गर्ने योजना रहेको उल्लेख गरे।
माहेश्वरी समाज बिरगंजको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस पहलले अपांग व्यक्तिहरूको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा माहेश्वरी समाजका सदस्य तथा पदाधिकारीहरू समेत उपस्थित रहेका थिए।
रोटरी क्लब बीरगंजद्वारा सञ्चालित कृत्रिम खुट्टा वितरण अभियानमा हालसम्म सयौं व्यक्ति लाभान्वित भइसकेका छन्। विज्ञहरूका अनुसार एकवटा कृत्रिम खुट्टा प्रत्यारोपणमा औसत रु. १६,५०० बराबरको खर्च हुने जानकारी पनि सर्वसाधारणमा दिइएको छ।
क्लबका सचीव रोटेरियन राकेश मिश्राका भनाई अनुसार रोटरी क्लब बीरगंजको यो प्रयासले अपांगता भएका व्यक्तिहरूको जीवनमा आशाको उज्यालो फैलाउने कार्य गर्दै आएको छ, जसले सामाजिक समावेशीता र सम्मानजनक जीवनका लागि टेवा पुर्याउने अपेक्षा गरिएको छ।



















