२०८२ चैत्र १० गते मंगलवार

मधेशमा पानीको समस्याको न्यूनीकरणका लागि संयुक्त जनचेतनामूलक अभियान सुरु

 

युनिसेफ नेपाल र वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा पर्सा जिल्लामा रहेका चार स्थानीय संस्थाहरू नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र, तथा एन.जी.ओ. सि.सि.को सहकार्यमा पानीको बचत र जिम्मेवार प्रयोगसम्बन्धी सातदिने जनचेतनामूलक अभियान सुरु गरिएको छ।

हाल तराई विशेषगरी मधेश प्रदेशमा पानीको समस्या बर्खाको मौसम हुँदै पनि बिक्राल रूपमा देखिएको छ। यही समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले विद्यालय तथा सामुदायिक स्तरमा जनचेतना फैलाउने कार्यक्रम संचालन गरिएको हो। विशेष गरी अत्यधिक प्रभावित क्षेत्रका वडाहरूमा स्वयंसेवक परिचालन गरेर एक साता लामो ‘पानी बचाउ अभियान’ सञ्चालन गरिएको छ।

कार्यक्रम अन्तर्गत वीरगञ्जस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय र अलपाइन स्कुलका विद्यार्थीहरूलाई दैनिक जीवनमा पानी कसरी बचत गर्ने भन्ने विषयमा व्यावहारिक जानकारी र प्रशिक्षण प्रदान गरिएको हो। प्रशिक्षण सत्रमा विशेष रूपमा घरेलु प्रयोगमा पानीको खपत घटाउने तरिका, वर्षा पानी संकलन, लिक हुने धारा मर्मत, तथा ‘पानीको पुनः प्रयोग’ जस्ता उपायहरूमा जोड दिइएको थियो।

प्रशिक्षण कार्यक्रम नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाकी वरिष्ठ सदस्य तथा समाजसेवी गुड्डी साहको नेतृत्वमा सम्पन्न भएको थियो। उनको सहयोगमा नन्दनी गुप्ता र प्रिया कुश्वाहाले समेत प्रशिक्षण कार्यलाई सहज बनाएका थिए। साथै, एन.जी.ओ. सि.सि.का प्रतिनिधिहरू दुलारचन प्रसाद र आनंद यादवको पनि सहभागिता रहेको थियो।

कार्यक्रमका आयोजकहरूले यो अभियानले विद्यार्थीहरू र समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। यस्ता सचेतना कार्यक्रमहरू मार्फत दीर्घकालीन रूपमा पानीको उपयोगमा सुधार ल्याउन सकिने र जल संकटको सामना गर्न सकिने उनीहरूको भनाइ छ।

स्थानीय तहमा सुरु गरिएको यस्तो अभियान मधेश प्रदेशका अन्य प्रभावित जिल्लाहरूमा पनि विस्तार गर्ने तयारी गरिएको आयोजकले जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM