मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा प्रदेशभरमै सर्वोत्कृष्ट घोषित भएको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको नेतृत्वमा हासिल यो सफलता उनको नेतृत्वदायी भूमिका र सक्रिय कमान्डको प्रतिफल हो।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमा प्रसाद चतुर्वेदीका अनुसार, एसपी मिश्रको कमान्डमा जिल्ला प्रहरी कार्यालय पर्साले ४० वटा सूचकमा आधारित कार्यसम्पादन मूल्यांकनमा ९०.१९ प्रतिशत अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
उक्त अवधिमा करिब ६० करोड रुपैयाँ बराबरको चोरी, तस्करी तथा भन्सार छलीका सामान नियन्त्रणमा लिइँदै सम्बन्धित राजस्व तथा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।विभिन्न अदालतबाट फैसला भई फरार रहेका १,५११ जना प्रतिवादी पक्राउ गर्दै पर्सा प्रहरीले ७३ वर्ष २ महिना कैद तथा ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना असुल गरेको छ।
लागुऔषध विरुद्धको अभियानमा पर्सा प्रहरीले ३१९ केजी चरेससहित ट्रक नियन्त्रणमा लिएको मात्र होइन, कुल ६२४ केजी चरेस, १,५६१ केजी गाँजा, १.५९ केजी अफिमसहित १५३ जना कारोबार गर्नेहरूलाई पक्राउ गर्दै ऐतिहासिक सफलता पाएको छ।
मानव बेचबिखनका १२ वटा मुद्दा दर्ता गर्दै १३ अभियुक्तलाई कारबाही गरिएको छ। यस्तै कर्तव्य ज्यान लगायत गम्भीर प्रकृतिका अपराधमा संलग्न अभियुक्तहरूलाई पक्राउ गरी सफल अनुसन्धान गरिँदै आएको छ।
एसपी मिश्रको नेतृत्वमा कार्यालयको भौतिक संरचना सुधार, सौन्दर्यीकरण र प्रहरीको मनोबल उच्च राख्न विभिन्न गतिविधि सञ्चालन गरिएको छ। हनुमान जयन्ती, गहवामाई रथ यात्रा र मुस्लिम समुदायको मोहरम जस्ता पर्वमा प्रभावकारी प्रहरी परिचालन गर्दै धार्मिक सहिष्णुता कायम राखिएको छ।
२०७७ सालदेखि सुरु गरिएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा पर्सा जिल्ला पहिलो पटक प्रदेशभरबाट विजेता बन्न सफल भएको हो।



















