शिक्षा क्षेत्रमा २५ वर्षे इतिहास बोकेको वीरगन्ज पब्लिक कलेजले यसै शैक्षिक सत्र २०८२ देखि ब्याचलर इन इन्फरमेशन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सुरु गर्ने भएको छ।
आज आयोजित पत्रकार सम्मेलनमार्फत कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठले जानकारी दिनुहुँदै, आधुनिक प्रविधि अनुरूपको शिक्षा प्रदान गर्ने उद्देश्यले बीआईटी कक्षा सञ्चालन गर्न लागिएको बताउनुभयो। उहाँले कलेजमा हाल प्लस टु, बीबीए, बीआईएम, बीबीएस, एमबीए, एमबीएस, एसीसीए लगायतका कार्यक्रमहरू सञ्चालनमा रहेको जानकारी दिनुभयो।
यस शैक्षिक सत्रदेखि सुरु हुने बीआईटी कार्यक्रममा ४८ जना विद्यार्थी भर्ना हुनेछन्। कम आर्थिक अवस्था भएका मेधावी विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गरिएको सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठले जानकारी दिनुभयो।
बीआईटी कक्षाका लागि अत्याधुनिक सुविधा सहितको ल्याब स्थापना गरिएको कलेजले जनाएको छ। कम्प्युटर ल्याब, डिजिटल लोजिक ल्याब, माइक्रोप्रोसेसर ल्याब, र आइटीओ ल्याब लगायतका प्रयोगशालाको व्यवस्था गरिएको को–अर्डिनेटर इन्जिनियर जयकिसन सहनीले जानकारी दिनुभयो।
उहाँका अनुसार पछिल्लो समय विद्यार्थीहरूमा सूचना प्रविधि अध्ययनप्रति आकर्षण बढ्दै गएकाले उक्त कक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो।
बीआईटी कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन गरिनेछ। यो कार्यक्रम चार वर्षे आठ सेमेस्टरमा विभाजित रहनेछ। साथै, विद्यार्थीहरूलाई पाठ्यक्रम अनुसारका पुस्तकहरू पुस्तकालयबाट उपलब्ध गराइने व्यवस्था गरिएको कलेजले जनाएको छ।
वीरगन्जमा सूचना प्रविधि शिक्षामा नयाँ युगको सुरुवात गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमले स्थानीय विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि शिक्षा प्रदान गर्ने कलेजको दाबी छ।









