नेपाली समाज मलेसियाका अध्यक्ष विनोद कुमार यादवलाई जनता समाजवादी पार्टी, नेपालले प्रवास विशेष प्रदेश समितिको सदस्य पदमा मनोनयन गरेको छ। पार्टीको विधानअनुसार गरिएको यस मनोनयनले यादवको प्रवासमा रहँदै नेपाली समुदायको हितमा गरेको योगदानलाई संस्थागत रूपमा सम्मान गरेको देखिएको छ।
विगत लामो समयदेखि मलेसियामा बसोबास गर्दै आएका यादव नेपालीहरूको हकहित, पहिचान संरक्षण तथा सामाजिक एकता निर्माणमा निरन्तर क्रियाशील रहँदै आएका छन्। मलेसियामा रहेका नेपालीहरूका विभिन्न समस्यामा उनले सक्रियता देखाउँदै स्वयम् उपस्थित भई समाधानको पहल गर्दै आएका छन्।
समर्पित अभियन्ताको रूपमा चिनिएका यादव प्रवासी नेपालीका पक्षमा निरन्तर काम गर्दै आएका छन्। यही योगदानको मूल्यांकन स्वरूप जनता समाजवादी पार्टी, नेपालले उनलाई प्रवास क्षेत्रको अनुभव र नेतृत्व क्षमतालाई संस्थागत रूपमा प्रयोग गर्न मनोनयन गरेको हो।
पार्टीबाट मनोनयनको जानकारी पाएपछि आफ्नो प्रतिक्रिया दिँदै विनोद यादवले भने, “पार्टीले देखाएको विश्वासप्रति म आभारी छु। यो जिम्मेवारी केवल कागजमा सीमित रहने छैन, म काममा यसको प्रतिबिम्ब देखाउनेछु। विगतमा जस्तै अब पनि म प्रवासी नेपालीको आवाज बनेर अझ बलियो रूपमा उभिनेछु।”
उनको यस मनोनयनलाई मलेसियास्थित नेपाली समुदायले गर्व र उत्साहका साथ स्वागत गरेका छन्। नेपाली समाज मलेसियाका विभिन्न संघसंस्थाले सामाजिक सञ्जालमार्फत उनलाई बधाई र शुभकामना दिएका छन्।









