जिल्ला प्रहरी कार्यालय बाराले अबैध लागुऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सिम्रौनगढ नगरपालिका वडा नं. ६ स्थित पावरहाउस चोकदेखि पूर्वपट्टि करिब ५०० मिटर दूरीमा रहेको नहर नजिकबाट उक्त व्यक्ति पक्राउ परेका हुन्।
प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा लागुऔषध नियन्त्रण ब्युरो शाखा वीरगञ्जबाट खटिएको टोलीले मंगलबार बिहान सो स्थानबाट भारत पूर्वी चम्पारण बिहार अन्तर्गत जितना थाना, अगर्वा ग्राम पंचायत वडा नं. ६ को कोडीगावाँ बस्ने ५० वर्षीय जयमंगल साहका छोरा मन्जन साह उर्फ उपेन्द्र साहलाई पक्राउ गरेको हो।
पक्राउ परेका उपेन्द्र साहको साथबाट प्रतिबन्धित लागुऔषध ट्रमाडोल लेखिएको १,०३८ पत्ता, कुल १०,३८० क्याप्सुल बरामद गरिएको छ। साथै उनी चलाइरहेको बीआर ०५ बीके ७०३५ नम्बरको भारतीय होण्डा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको छ।









