मानव बेचबिखन तथा लैङ्गिक हिंसाको अन्त्यका लागि Cross-Border Coordination Meeting on Controlling Human Trafficking शीर्षकमा वीरगञ्जमा एक विशेष बैठक सम्पन्न भएको छ।
शुक्रबार वीरगञ्जको होटल दियालोमा आयोजित उक्त बैठकमा मानव बेचबिखन नियन्त्रणका लागि सीमा क्षेत्रमा कार्यरत विभिन्न निकायहरूबीचको समन्वय र सहकार्य कसरी अझ सुदृढ गर्न सकिन्छ भन्ने विषयमा गहिरो छलफल गरिएको थियो।
कार्यक्रमको आयोजना आफन्त नेपाल, ललितपुरद्वारा गरिएको थियो भने जिल्ला प्रहरी कार्यालय, पर्साले सहकार्य गरेको थियो।
कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, मानव अधिकारकर्मी तथा सरोकारवालाहरूको सक्रिय उपस्थिति थियो।
बैठकमा सहभागीहरूले सीमा क्षेत्रमा भइरहेको मानव बेचबिखन नियन्त्रण, पीडितको उद्धार, सुरक्षात्मक पुनःस्थापना तथा न्याय सुनिश्चितताका लागि आपसी समन्वय र सूचना साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
‘Campaign to End Human Trafficking & Gender-Based Violence’ भन्ने नारासहित आयोजित कार्यक्रममा सीमा क्षेत्रमा अवैध रुपमा भइरहेका मानव ओसारपसारका घटनालाई नियन्त्रण गर्न संयुक्त तथा निर्णायक पहल आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
आफन्त नेपालका प्रतिनिधिहरूले मानव बेचबिखनको पीडितहरूलाई शीघ्र न्याय दिलाउन कानुनी कार्यान्वयन प्रक्रियालाई तीव्र बनाउनुपर्ने सुझाव प्रस्तुत गरे।
त्यस्तै, सहभागीहरूले यस्ता समन्वयात्मक बैठकहरूलाई निरन्तरता दिनु नै दीर्घकालीन समाधानको मार्ग भएको धारणा राखेका थिए।
कार्यक्रम जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बैठक सञ्चालन गरिएको थियो।
बैठकमा पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी, महिला तथा बालबालिका सेवा केन्द्र, स्थानीय पालिका प्रतिनिधिहरू, सीमा प्रहरी चौकी प्रमुखलगायत वक्ताहरूले आ-आफ्नो धारणा राख्दै सीमा क्षेत्रमा भइरहेको मानव बेचबिखन विरुद्धको संघर्षमा यस्ता बैठकहरू अत्यन्त आवश्यक र प्रभावकारी हुने बताएका थिए।









