जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–९, एकटांगाका ३४ वर्षीय जगमोहन यादव रहेका छन्।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको प्रहरी टोलीले यादवलाई पटेर्वा सुगौली गाउँपालिका–४, करबोलाबाट पक्राउ गरेको हो। प्रहरीले संदेहजनक रूपमा चलिरहेको बिआर ०५ एजी ६८०५ नम्बरको मोटरसाइकल जाँच गर्दा ८ किलो ४४० ग्राम गाँजा फेला परेको हो।
प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार, गाँजा मोटरसाइकलको सिटमुनि लुकाइएको र यादवको शरीरमा बाँधिएको अवस्थामा फेला परेको थियो।
हाल पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। लागुऔषध कारोबारमा संलग्न अन्य व्यक्ति वा समूहको पहिचान तथा संलग्नता पत्ता लगाउन प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ।









