२०८२ चैत्र १० गते मंगलवार

एनआई कलेजमा विज्ञान प्रविधि प्रदर्शनी सम्पन्न : विद्यार्थीहरूको सिर्जनशीलताको उत्कृष्ट प्रदर्शन

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित नेशनल इन्फोटेक (एनआई) कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूले निर्माण गरेका विज्ञान तथा प्रविधि सम्बन्धी सामग्रीहरूको प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ।

कलेज परिसरमै आयोजित कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गर्दै आधुनिक सूचना प्रविधिको युगमा सिकाइ र प्रयोगको संयोजनबाट असम्भव जस्तै लाग्ने कार्यहरू पनि सम्भव हुने स्पष्ट पारे।

प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका हवाईजहाज, ड्रोन, रोबर्ट, सौर्य उर्जा प्रणाली, स्वचालित माटो परीक्षण यन्त्र, वायुप्रदूषण मापन यन्त्र, हरित गृह प्रविधि, तथा कृषि सम्बन्धी उपकरणहरू मुख्य आकर्षण बने।

विद्यार्थीहरूले विशेष गरी कृषिमा आधुनिक प्रविधिको प्रयोग, वैकल्पिक उर्जाको उपयोग र ड्रोन प्रविधिको सहायताले विविध कार्यहरू कसरी सहज बनाइन्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए।

कार्यक्रम कलेजका निर्देशक मनिष सिंहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा युवा समाजसेवी एवं कलेजका ईसीए डाइरेक्टर सुधिर पटेल, मुनलाइट स्कुलका सञ्चालक श्याम केसी, गौतम स्कुलका रमेश शर्मा, एलभिन रेन्जर सर लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रदर्शनीमा वीरगञ्ज र कलैयाका विभिन्न विद्यालयहरूबाट आएका विद्यार्थी तथा शिक्षकहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित अतिथिहरूले विद्यार्थीहरूको सिर्जनात्मक सोच, प्रविधिमा रुचि तथा व्यावहारिक प्रस्तुतिलाई प्रशंसा गरेका थिए।

ईसीए डाइरेक्टर सुधिर पटेलका अनुसार, यस विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा आत्मविश्वास, रचनात्मकता र नवप्रवर्तनशील सोचको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

एनआई कलेजद्वारा आयोजित यस्तो प्रदर्शनीले शिक्षामा नवप्रवर्तनको आवश्यकता र सम्भावनालाई उजागर गर्दै विद्यार्थीहरूको भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM