स्व. सीताराम लोहियाका सुपुत्र स्व. बिजय लोहियाले आफ्नो जीवनको अन्तिम घडीमा परमार्थ र मानव सेवाको अनुपम उदाहरण प्रस्तुत गर्दै नेत्रदान गरेका छन्। उनीद्वारा गरिएको यो पुनीत कार्य केडिया आँखा अस्पतालको प्राविधिक टोली र तेरापंथ युवा परिषद्को सहकार्यमा सफलतापूर्वक सम्पन्न गरिएको हो।
उहाँका श्रीमती उषा लोहिया तथा सुपुत्रहरू विनीत लोहिया, विशाल लोहिया र विवेक लोहियाको सहमतिमा गरिएको यो नेत्रदानले सामाजिक उत्तरदायित्वप्रति लोहिया परिवारको समर्पण प्रष्ट पार्दछ। बिजय लोहियाको जीवन यात्रा सकिए पनि उहाँले दान गरेका आँखाले कसैको जीवनमा उज्यालो ल्याउनेछ जुन कार्य मानव सेवाको उत्कृष्ट प्रतीक बन्नेछ।
केही दिन अघि तेरापंथ युवा परिषद् र बीरगंज महानगरपालिकाको संयुक्त प्रयासमा शुरू गरिएको नेत्रदान अभियानले स्थानीयस्तरमा उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। स्व. बिजय लोहियाको योगदानले अभियानलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ।
अन्तर्राष्ट्रिय तथ्यांक अनुसार, भारतमा हरेक वर्ष करिब २.५ लाख व्यक्तिलाई कोर्निया प्रत्यारोपण आवश्यक पर्ने भए तापनि, जनचेतनाको कमी, आँखा बैंकको अपर्याप्तता, गुणस्तरीय कोर्नियाको अभाव र दाताको न्यून सहभागिताका कारण हाल करिब एक लाख मात्र प्रत्यारोपण हुनसक्ने स्थिति रहेको छ।
यस्तो परिस्थितिमा नेत्रदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्न र स्रोत विस्तार गर्न अत्यन्त जरुरी देखिन्छ। स्व. बिजय लोहियाजस्ता व्यक्तिहरूको योगदानले समाजमा नेत्रदानप्रतिको चेतना फैलाउने विश्वास लिइएको छ।
उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै लोहिया परिवारको मानवता र सेवा भावप्रति कृतज्ञता प्रकट गरिन्छ।









