वीरगञ्ज उद्योग वाणिज्य सङ्घ अन्तर्गत नवगठित महिला उद्यमशिलता विकास समितिको प्रथम बैठक सोमबारको दिन सङ्घको सभाहलमा सम्पन्न भएको छ। बैठक समितिकी संयोजक डा. लक्ष्मी थापाको संयोजकत्वमा तथा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
बैठकमा निकट भविष्यमा एक बृहत् महिला उद्यमशिलता सम्मेलन तथा सम्मान कार्यक्रमको आयोजना गरिने प्रतिवद्धता व्यक्त गरिएको छ। पर्सा र बारा जिल्लामा क्रियाशील उद्यमशील महिलाहरूको पहिचान, प्रतिभा उजागर र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिने जनाइएको छ।
सङ्घले यस्ता महिलाको क्षमता विकास, व्यवसायिक सशक्तिकरण तथा समुचित नेटवर्किङका लागि अग्रसर भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष मनोजकुमार दास, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोज रुँगटा, सचिव प्रेमचन्द्र गोयल, सह-कोषाध्यक्ष निरज अग्रवाल, सह-सचिव अनुप अग्रवाल तथा महिला उद्यमशिलता विकास समितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकले आगामी दिनमा महिला व्यवसायीहरूका लागि विभिन्न तालिम, कार्यशाला, नेटवर्किङ फोरम र सहुलियतपूर्ण पहुँच कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ।









