२०८२ फाल्गुन २७ गते बुधबार

पटेर्वासुगौली बेलवा टाडीमा भूमिहीन सुकुम्बासीका लागि विशेष नापी तथा भूमि अधिकार कार्यक्रम सम्पन्न

 

पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–२, बेलवा टाडीमा भूमि समस्या समाधान आयोग पर्साले भूमिहीन दलित तथा सुकुम्बासी समुदायको लागि भूमि नापजाँच कार्य सुरु गरेको छ।

गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षता तथा भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आयोगले आजैदेखि नापी कार्य औपचारिक रूपमा सुरु गरेको हो। आयोगले रङपुर बजार क्षेत्रमा आगामी बिहीबारबाट नापी कार्य थालनी गर्ने जानकारी दिएको छ।

कार्यक्रममा बोल्दै आयोग अध्यक्ष तबरेज अहमदले भूमिहीनहरूको आवाज बुलन्द गर्न आह्वान गर्दै भन्नुभयो, “बच्चाले नरोएसम्म आमाले दूध दिँदिनन्, त्यसैले अब हामीले पनि आफ्नो अधिकारका लागि दबाब दिनुपर्छ।”
उहाँले नापी कार्यमार्फत बहुप्रतिक्षित भूमि अधिकारको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँको भनाइमा, “यो प्रक्रिया मात्र होइन, यो न्यायको काम हो,” भन्दै आयोग सधैं भूमिहीन र सुकुम्बासीको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपप्रमुख ममता महतो, वडा अध्यक्ष विजय गैरे, नापी अधिकृत राजकुमार विक, आयोगका प्रशासन प्रमुख राजेन्द्र खड्का, अमिन टोली लगायत सयौं स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।

स्थानीयहरूद्वारा नापी प्रक्रियालाई स्वागत गरिएको छ भने यस अभियानले भूमि अधिकारको बाटो सहज बनाउने आशा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM