बिरगंज महानगरपालिका–१३ स्थित चिनिमिल आवास क्षेत्रभित्र रहेको पशुपतिनाथ मन्दिरमा सोमबार राति चारवटा दान पेटिका चोरी भएको घटना बाहिरिएको छ।
स्थानीय स्रोत र मन्दिर समितिका अनुसार, सोमबार मन्दिरमा दर्शनार्थीहरूको बाक्लो भीड देखिएको थियो। सोही राति मन्दिरभित्र रहेका चारवटा दान पेटिका अज्ञात व्यक्तिहरूले चोरी गरेका हुन्।
पुजारीका अनुसार ती पेटिकामा सोमबार भक्तजनहरूले चढाएको नगद, सिक्का र अन्य पूजनीय सामग्री भरिएको थियो। तर, यति ठूलो चोरी भएतापनि न प्रहरीमा उजुरी दिइएको छ, न त मन्दिर समितिले कुनै सार्वजनिक सूचना जारी गरेको छ।
स्थानीयहरूले जनाएअनुसार, घटना सोमबार राति नै भए पनि मंगलबार साझ मात्र सार्वजनिक रूपमा जानकारी आएको हो।
मन्दिर परिसरमा न सुरक्षा गार्डको व्यवस्था छ, न सिसिटिभी जस्तो निगरानी प्रणाली। यही कमजोरीका कारण चोरी सजिलै सफल भएको हुनसक्ने अनुमान गरिएको छ।
घटनाबारे मन्दिर समितिले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन भने स्थानीय बासिन्दाहरू धार्मिक स्थलहरूमा सुरक्षा कडाइको माग गर्दै आक्रोशित देखिएका छन्।
यो घटना धार्मिक स्थलहरूको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाउँदै आएको छ।









