सामूदायिक सेवा केन्द्र छप्कैया, वडा नं. २ को आयोजनामा तथा वीरगंज सामूदायिक आँखा केन्द्रको सहयोगमा भारत–नेपाल सिमानामा अवस्थित भारतको ग्राम महदेवामा एकदिने निःशुल्क आँखा जाँच तथा उपचार शिविर सम्पन्न भएको छ।
स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका सीमावर्ती बस्तीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरमा कुल २०२ जना बिरामीहरूको आँखा परीक्षण गरिएको थियो। तीमध्ये ७५ जनामा मोतियाबिन्द देखा परेको जानकारी वीरगंज सामूदायिक आँखा केन्द्रका प्रमुख डा. महेश सिंह धामीले दिनुभयो। मोतियाबिन्द देखिएका बिरामीहरूको लेन्ससहित निःशुल्क शल्यक्रिया गरिने र अन्य बिरामीहरूलाई आवश्यक औषधि तथा चश्मामा ५० प्रतिशत छुट दिइने उहाँले बताउनुभयो।
शिविरको उद्घाटन कार्यक्रम सामूदायिक सेवा केन्द्र छप्कैया वडा नं. २ का अध्यक्ष हाजी ग्यासुदिन मिया ठकुराईको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि समाजसेवी विभव सिंहले वीरगंज सामूदायिक आँखा केन्द्र र सामूदायिक सेवा केन्द्र छप्कैयाले सीमावर्ती जनताका लागि गरेको यो सेवा अमूल्य रहेको बताउँदै यस्ता कार्यले जनस्वास्थ्यमा उल्लेखनीय योगदान पुग्ने उल्लेख गर्नुभयो।
विशिष्ठ अतिथिका रूपमा पूर्व सरपञ्च निरहसन ठकुराई, महदेवा एसएसबीका इन्चार्ज जोनप्रकाश टड्डु, एएसआई कृपाराम शर्मा, एसएसबीका विरेन्द्र सिंह पवार, समाजसेवी विवेक सिंह, समाजसेवी गणेश झा लगायतले समेत कार्यक्रममा सहभागी भई जनस्वास्थ्यसँग सम्बन्धित यस्ता शिविरहरू सीमावर्ती सद्भाव र सहयोगको प्रतीक भएको विचार व्यक्त गरे।
कार्यक्रममा सामूदायिक सेवा केन्द्रका उपाध्यक्ष मो. अब्दुलहक, कोषाध्यक्ष श्रीमती प्रेम कुमारी लगायत स्थानीय अगुवा तथा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिविरमा सहभागी बिरामी तथा स्थानिय नागरिकहरूले यस्तो निःशुल्क सेवा पाउँदा आफूहरू अत्यन्त लाभान्वित भएको प्रतिक्रिया दिएका छन्।









