निजी विद्यालयहरूको छाता संस्था प्राइभेट एण्ड बोर्डिङ स्कुल्स अर्गनाइजेशन नेपाल (प्याब्सन) महानगर समितिले वीरगंज महानगरपालिका–१४ स्थित फुरकान नेशनल एकेडेमी र वडा नम्बर १६ स्थित नेशनल मोडल स्कुल, नगवाको अनुगमन गरेको छ।
प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तवका अनुसार, विद्यालयलाई प्याब्सनमा आबद्ध गराउने उद्देश्यले अनुगमन गरिएको हो। अनुगमनका क्रममा वीरगन्ज महानगरपालिकाको शिक्षा नियमावली अनुसार विद्यालयको सञ्चालन भइरहेको छ कि छैन, कर चुक्ता अवस्था, सञ्चालन अनुमति पत्र र मान्यता प्राप्त शैक्षिक सत्र लगायतका मापदण्डको आधारमा मूल्यांकन गरिएको थियो।
“हामी विद्यालयमा शैक्षिक, प्रशासनिक र कानुनी मापदण्डहरूको अध्ययन गर्छौं,” अध्यक्ष श्रीवास्तवले भने, “यदि ती सबै मापदण्ड पूरा भएमा प्याब्सन महानगर कमिटीले जिल्ला कार्यसमितिमा सिफारिस गर्नेछ, र त्यसपछि विद्यालयलाई सदस्यता प्रदान गरिनेछ।”
उनका अनुसार हालसम्म वीरगन्ज महानगर क्षेत्रभित्रका ५४ वटा निजी विद्यालयहरू प्याब्सनमा आबद्ध भइसकेका छन् भने अन्य थुप्रै विद्यालयहरूले सदस्यता प्राप्त गर्न चासो देखाइरहेका छन्।
प्याब्सन महानगर सचिव अमित आलोकले पनि बिहीबार मात्रै आचार्य एकेडेमी, सुफा एकेडेमी र गोल्डेन वाटिका, हरपतगंजले सदस्यता प्रक्रियाका लागि आवश्यक कागजातहरू बुझाएको जानकारी दिए।
हामी निजी शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौं,” अध्यक्ष श्रीवास्तवले बताए, “त्यसका लागि प्याब्सन सदस्य विद्यालयहरूसँग सहकार्य र नियमित अनुगमन आवश्यक हुन्छ।









