वीरगंज महानगरपालिका–१० स्थित आदर्शनगर रंगशालाको संरक्षण, सम्वर्द्धन, मर्मत–सम्भार र प्रभावकारी सञ्चालनका लागि गोपाल प्रसाद खेतानलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।
वीरगंज महानगर प्रमुख राजेशमान सिंहद्वारा हस्ताक्षरित पत्रमार्फत खेतानलाई उक्त जिम्मेवारी दिइएको हो। पत्रमा उल्लेख भएअनुसार, यसअघि पनि गोपाल खेतानले रंगशालाको समुचित संरक्षण र व्यवस्थापनमा पुर्याएको योगदान प्रशंसनीय रहेको पाइएकाले थप जिम्मेवारी प्रदान गरिएको उल्लेख गरिएको छ।
महानगरपालिकाको घोषणा अनुसार, आदर्शनगर रंगशाला अब खेलकुद क्षेत्रको वृत्ति विकास र उन्नयनका लागि मात्र प्रयोग गरिने नीति लिइएको छ। सोही नीति कार्यान्वयनमा सहयोग पुग्ने विश्वासका साथ संयोजकमा खेतानको नियुक्ति गरिएको हो।
खेतानले रंगशालाको समग्र समन्वय, आवश्यक मर्मत–सम्भार, व्यवस्थापन तथा स्थानीय खेल गतिविधिहरूलाई प्रोत्साहित गर्नमा आफ्नो अनुभव, ज्ञान, सिप तथा दक्षता प्रयोग गर्दै काम गर्ने अपेक्षा नगरपालिकाले राखेको छ।
प्रमुख सिंहले खेतानको सफल कार्यकालको शुभकामना दिँदै ईमान्दारिता र लगनशीलताका साथ दायित्व निर्वाह गर्न आग्रह गरेका छन्।
आदर्शनगर रंगशाला वीरगंज महानगरको एक महत्वपूर्ण खेल संरचना हो, जहाँ विविध प्रकारका खेल तथा कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। पछिल्ला केही वर्षमा रंगशालाको संरक्षण तथा स्तरोन्नतिको माग उठ्दै आएको थियो। यसै सन्दर्भमा, स्थानीय तहले जिम्मेवार व्यक्तिको संयोजनमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रयासस्वरूप खेतानलाई संयोजक तोकेको हो।
गोपाल प्रसाद खेतानको संयोजक तोकिएको खबर सार्वजनिक भएलगत्तै खेलकुद क्षेत्रका अभियन्ता, खेलाडी र स्थानीय बासिन्दाले उक्त निर्णयको स्वागत गरेका छन्। उनीहरूले खेतानको नेतृत्वमा रंगशालाले अझ व्यवस्थित र उद्देश्यअनुरूप सञ्चालन हुने अपेक्षा गरेका छन्।



















