२०८३ जेष्ठ २ गते शनिबार

वीरगञ्जमा ‘बृहत् महिला सम्मेलन २०८२’ आयोजना हुने

 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको महिला उद्यमशीलता विकास समितिले पर्सा–बारा जिल्लाका उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासहित विभिन्न क्षेत्रमा सक्रिय महिलाको सामाजिक पहिचान उजागर गर्ने उद्देश्यसहित यही भाद्र १४ गते शनिवार “बृहत् महिला सम्मेलन २०८२” आयोजना गर्ने भएको छ।

नेपालका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा “नारी : शक्ति, समर्पण र सम्मान” विषयक कार्यशाला गोष्ठी समेत सञ्चालन गरिनेछ। सम्मेलनमा विभिन्न क्षेत्रका प्रेरणादायी तथा उल्लेखनीय योगदान पुर्याएका ३०–४० जना महिलालाई सम्मान गरिनेछ। साथै, राष्ट्रिय स्तरमा आफ्नो विचार, पेशा र कर्मबाट स्थापित महिलाहरुको सहभागितामा विभिन्न विधामा प्यानल छलफलसमेत गरिने कार्यक्रम रहेको छ।

कार्यक्रमको उद्देश्य महिला उद्यमीको नेतृत्व क्षमताको विकास, उद्योग–व्यापारको प्रवर्द्धन र समाजमा महिलाको समुज्ज्वल पहिचान स्थापित गर्नुपर्ने भूमिकाबारे छलफल गर्नु रहेको समितिले जनाएको छ। यसमार्फत महिलालाई उद्यमशीलता, सामाजिक सेवा र राष्ट्र निर्माणतर्फ अभिप्रेरित गर्ने लक्ष्य लिइएको छ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने सम्मेलनको तयारीबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक निरज अग्रवाल, सह–संयोजक अनुप अग्रवाल, महिला उद्यमशीलता विकास समितिका संयोजक डा. लक्ष्मी थापा, सङ्घका अध्यक्ष हरिप्रसाद गौतमलगायत पदाधिकारीको उपस्थिति रहेको थियो। नेपाल रेडक्रस सोसाइटीकी गुडि साहले स्वागत मन्तव्य राखेकी थिइन् भने नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालले आसन ग्रहण गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM