पर्साको ठोरी गाउँपालिका–४ सुन्दरटोलमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको पहिचान र व्यवस्थापनका लागि जग्गा नापजाँच कार्य तीव्र गतिमा भइरहेको छ।
आइतबार उक्त कार्यको अनुगमन भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, नापी कार्यालय पर्साका नापी अधिकृत राजकुमार विश्वकर्मा, वडा नं. ४ का वडाअध्यक्ष मानबहादुर थिङ, कार्यपालिका सदस्य देवीमाया दोङ लगायतको टोलीले गरेको हो।
अध्यक्ष अहमदका अनुसार आयोगले भूमिहिनलाई स्थायी बसोबासको व्यवस्था गराउन प्रतिबद्ध भएर काम गरिरहेको छ। उनले भने, “भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र नापजाँच कार्यलाई तीव्र बनाइएको छ। अब पहिचान भएकाहरूलाई जग्गा वितरणको प्रक्रिया छिट्टै अघि बढाइनेछ।”
गाउँपालिका अध्यक्ष श्रेष्ठले यो अभियान सफल बनाउन स्थानीय तहको सहकार्य अनिवार्य रहेको बताए। उनले भने, “भूमिहिन समस्या हाम्रो सामुदायिक चुनौती हो। यसलाई दीर्घकालीन समाधान दिन गाउँपालिका, आयोग र सम्बन्धित निकाय मिलेर काम गर्दैछौं।”



















