वीरगञ्ज किरन आँखा अस्पताल वीरगञ्जको आयोजनामा तथा रोटरी क्लब अफ वीरगञ्ज RI District 3292 को सहयोगमा आज मंगलबार पर्साको परवानीपुरस्थित लिटल फ्लावर स्कूलमा निःशुल्क आँखा जाँच तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको उक्त स्वास्थ्य शिविरमा विद्यालयका विद्यार्थीहरुलाई मुख तथा आँखा परीक्षण, दन्त स्वास्थ्य सम्बन्धी सुझाव तथा सचेतनामूलक जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा कुल ८०० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो।
आँखा जाँचका क्रममा १०० जना विद्यार्थीमा रिफ्रेक्टिभ त्रुटि (दृष्टि समस्या) देखापरेको र उनीहरूलाई चश्माको आवश्यकता भएकाले थप निःशुल्क विस्तृत जाँचका लागि किरन आँखा अस्पतालमा सिफारिस गरिएको आयोजकले जानकारी दिएका छन्।
आयोजक संस्थाका अनुसार यस्तो स्वास्थ्य शिविरले विद्यार्थीको दृष्टि र मुख स्वास्थ्यमा सुधार ल्याउनका साथै उनीहरूमा सचेतना फैलाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।



















