मदरल्यान्ड स्कुल, वीरगञ्ज–३ मा आज श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष झाँकी कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा भव्य रूपमा आयोजित उक्त कार्यक्रममा अभिभावक समिति अध्यक्ष राजकुमार साहको सभापतित्व तथा राष्ट्रिय स्वतन्त्र पार्टी, मधेश प्रदेश संगठन विभागका उप–प्रमुख प्रमोद रायमाझीको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा नेशनल प्याब्सन, वीरगञ्ज नगर अध्यक्ष सोनालाल पटेलको विशिष्ट उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य अनिकेत सर्राफले राखेका थिए भने संचालन विद्यालयका लेखापाल विजेता चौधरीले गरेका थिए।
विद्यार्थीहरूले राधा–कृष्णको बाल–लीला र विभिन्न प्रसंग झल्काउने आकर्षक झाँकीहरू प्रस्तुत गरेका थिए। रंगीचंगी पहिरन, नृत्य, भजन र अभिनयमार्फत विद्यार्थीहरूले भगवान् श्रीकृष्ण र राधाको जीवनका प्रेरणादायी घटनाहरूलाई जीवन्त रूपमा प्रस्तुत गर्दा उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरू मन्त्रमुग्ध भएका थिए।
कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, सांस्कृतिक चेतना र धार्मिक मूल्यप्रति समर्पणलाई प्रोत्साहन गरेको विद्यालयका सञ्चालकहरूले बताएका छन्।









