बिरगंज पब्लिक कलेजले आफ्नो २५ वर्षको शैक्षिक उत्कृष्टताको अवसरमा शुक्रबार विशेष कार्यक्रम ‘कर्पोरेट लिडर्स मिट’ आयोजना गरेको छ। कार्यक्रममा उद्योग र शैक्षिक क्षेत्रबीचको अन्तर घटाउने विषयलाई मुख्य एजेन्डा बनाई व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका प्रतिष्ठित उद्योगपति, व्यापारिक घराना, विभिन्न संघ–संस्थाका प्रतिनिधि, प्राध्यापक, विद्यार्थी तथा पूर्वविद्यार्थीहरूको सक्रिय सहभागिता थियो।
उद्घाटन सत्रमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम र कलेजका संस्थापक अध्यक्ष प्रा. डा. दीपक शाक्यले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै कार्यक्रमको सुरुवात गरे। कलेजका सहायक प्रमुख डा. अरविन्द श्रेष्ठले स्वागत मन्तव्य दिँदै २५ वर्षको शैक्षिक यात्रामा कलेजले हाँसिल गरेका उपलब्धि र उद्योगसँग सहकार्यका आगामी योजनाबारे जानकारी प्रस्तुत गरे।
प्यानल डिस्कसनमार्फत कर्पोरेट र शैक्षिक संस्थाबीच आवश्यक सीप, व्यवहारिक अनुभव, तथा बजारको मागअनुसार पाठ्यक्रम परिमार्जनको आवश्यकता औंल्याइएको थियो। उद्योग–शिक्षा अन्तर घटाउन नियमित संवाद, इन्टर्नशिप, तालिम, अनुसन्धान र संयुक्त परियोजनामा सहकार्य गर्नुपर्नेमा जोड दिइयो। मुख्य वक्तामा हरिप्रसाद गौतम, टंक भट्टराई, सुरेन्द्र बतास, र थानेश्वर सापकोटा थिए भने डा. वासु कर्णले मोडरेशन गरेका थिए।
सोही अवसरमा कलेजले विभिन्न क्षेत्रका कर्पोरेट लिडर्सलाई सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानको प्रशंसा गर्यो।
क्याम्पस प्रमुख डा. विनय श्रेष्ठले समापन मन्तव्य तथा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिकता टुंग्याए। कार्यक्रममा सहजीकरण कलेजका वरिष्ठ प्राध्यापक महेश्वर हाडाले गरेका थिए। कलेजले उद्योग र शैक्षिक जगतबीचको सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता पनि सार्वजनिक गरेको छ।









