मानवसेवा आश्रम वीरगञ्ज शाखाले गए राति मानसिक अवस्था कमजोर रहेका एक पुरुषलाई उद्धार गरी आश्रममा सुरक्षित गरेको छ।
शुक्रबार राति करिब ९:३० बजे वारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित वन कार्यालय अगाडिबाट अन्दाजी ४० वर्षको एक जना पुरुष बेवारिसे अवस्थामा फेला परेका थिए। आफ्नो नाम र ठेगाना स्पष्ट बताउन नसक्ने ती व्यक्तिलाई स्थानीयको सहयोगमा मानवसेवा आश्रमको टोलीले उद्धार गरेको हो।
आश्रममा लगाइएपछि उनको सरसफाइ, नुहाइ–धुहाइ गराइएको छ। साथै स्वास्थ्य परीक्षण गरी डा. भरत गोईको निगरानीमा औषधि उपचार सुरु गर्ने तयारी गरिएको आश्रमले जनाएको छ।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता एवं आश्रमका अभिभावक प्रकाश थारु, संयोजक मुना मगर, जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी जवान नागेश्वर यादव, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक हवल्दार अरविन्द कुमार दास लगायत स्थानीय व्यक्तित्वहरूको सक्रिय उपस्थिति रहेको थियो।
मानवसेवा आश्रमले सडकमा वेवारिसे अवस्थामा भेटिएका विपन्न, असहाय तथा मानसिक समस्याबाट पीडित व्यक्तिहरूलाई उद्धार गरी निःशुल्क सेवा, उपचार र पुनःस्थापना गर्दै आएको छ।
आश्रमले सर्वसाधारणलाई यस्ता अवस्थाका व्यक्तिहरू देखेमा तुरुन्तै नजिकैको प्रहरी वा मानवसेवा आश्रमलाई खबर गर्न अनुरोध समेत गरेको छ।









