श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा श्री कृष्ण प्रणामी युवा परिषद्, पर्साद्वारा आयोजित वृहत् रक्तदान कार्यक्रम मंगलबार बिरगंज–भिश्वास्थित श्री कृष्ण प्रणामी मन्दिर प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता परिषद् पर्साका अध्यक्ष श्री योगेश यादवले गर्नुभएको थियो।सो अवसरमा पर्साका प्रहरी उपरीक्षक श्री गौतम मिश्रा प्रमुख अतिथि रहनुभएको थियो भने पर्साका नायब उपरीक्षक श्री किशोर लम्साल विशिष्ट अतिथि हुनुहुन्थ्यो।

त्यसैगरी, कार्यक्रममा श्री नन्द किशोर साह, श्री राहुल रौनियार, श्री सन्जय अग्रवाल, श्री बृज किशोर पटेल, श्री घनश्याम दाहाल, श्रीमती अल्का बज्गाईँ, श्रीमती लक्ष्मी दाहाल, श्री राजेन्द्र भट्टराई, श्री दिपक पोख्रेल, श्री जयप्रकाश बज्गाईँ लगायतका समाजसेवी तथा मन्दिर पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा ३५ जना दाताहरूले रक्तदान गरेका थिए, जसमा ७ जना महिला दाताहरूको सहभागिता विशेष उल्लेखनीय रहेको आयोजक समितिले जनाएको छ।
रक्तदान कार्यक्रमलाई श्री कृष्ण प्रणामी युवा परिषद्, पर्साका सचिव श्री नरोत्तम पाण्डेले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो।

आयोजक परिषद्का अनुसार यस किसिमका सेवामूलक कार्यहरूले समाजमा मानवता, करुणा र एकताको भावना अभिवृद्धि गर्ने भएकाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।









