सानोपाइला संस्थाको आयोजनामा तथा क्वेष्ट फर्माको आर्थिक सहयोगमा वीरगञ्जस्थित बालसुधार गृहमा ७ दिने मैनबत्ति सीपमूलक तालीम सम्पन्न भएको छ। उक्त तालीम प्रकाश प्रोजेक्टद्वारा सञ्चालन गरिएको हो।

सात दिने तालीमको पहिलो चरणमा बालसुधार गृहमा रहेका १५ जना बालबिजयीकर्ताहरू सहभागी भएका थिए। तालिम पश्चात् आज उनिहरु लाई प्रमाणपत्र समेत दिईएको थियोे। सहभागी बालबालिकाहरूले विभिन्न किसिमका आकर्षक डिजाइनका सजावटी मैनबत्तिहरू बनाउन सिकेका थिए। आयोजकहरूको भनाइ अनुसार कार्यक्रमको उद्देश्य उनीहरूलाई सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउन र भविष्यमा उपयोगी सीप प्रदान गर्नु रहेको हो।
समारोहका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहेका थिए। उनले बालसुधार गृहमा रहेका बालबालिकालाई आत्मविश्वास दिलाउने, व्यवहारिक सीप सिकाउने र जीवनमा अघि बढ्न प्रेरित गर्ने उद्देश्यले यस्तो तालिम आयोजना गरिएको बताए। उनका अनुसार पहिलो चरणमा १५ जनालाई मात्र समेटिए पनि आगामी दिनमा थप बालबालिकालाई पनि तालिममा सहभागी गराइनेछ।

तालीमको औपचारिक समापन समारोहमा प्रकाश प्रोजेक्टकी संयोजक शुश्मा गौतम, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, सानोपाइला संस्थाका कार्यक्रम संयोजक राजकुमार तामाङ, प्रशिक्षक विपिन उपाध्याय लगायतको उपस्थिति रहेको थियो।
प्रशिक्षक विपिन उपाध्यायका अनुसार तालिममा सजावटी मैनबत्ति बनाउने तरिका, विभिन्न ढाँचाहरू तयार गर्ने, रंग संयोजन, मोम पगाल्ने प्रविधि लगायतका सीपहरू सिकाइएका थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, क्वेष्ट फर्माका उमेश श्रेष्ठ, राष्ट्रिय समाचार समितिका प्रमुख हिमाल लम्साल, अभिलाष गुप्ता, प्रहलाद चौरसियालगायतको पनि उपस्थिति थियो।

आयोजक संस्था तथा सहकार्यकारी प्रकाश प्रोजेक्टले यस्तो तालिमले बालअधिकार, सुधार तथा पुनर्स्थापना अभियानलाई सशक्त बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। साथै, सहभागी बालबालिकाले उत्पादन गरेका मैनबत्तिहरुको आगामी दिनमा बजार व्यवस्थापन गर्ने तयारीसमेत रहेको आयोजकहरूले जानकारी दिएका छन्।उक्त समारोहको सञ्चालन सानोपाइला संस्थाका विवेक कर्णले गरेका थिए।









